२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

वर्तमान समयमा युवाको अवसर र चुनौती विषयक अन्तरक्रिया 

बिहिवार , श्रावण २६, २०७९

भैरहवा, २६ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही क्याम्पस कमिटी सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा वर्तमान समयमा युवाको अवसर तथा चुनौती विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकासँग युवा, विद्यार्थीहरु सहकार्य गरेर अघि बढ्नुपर्ने र त्यसप्रति आफू प्रतिवद्ध भएको बताइन् । उनले सही समयमा सही ज्ञान सीप नभएका कारणले खोजेको जनशक्ति पाउन नसकिएको प्रष्ट पारिन् । 

कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य सरोज ठकुरीले युवाहरुको सोच रचनात्मक हुनुपर्ने, संगठनको नियमित बैठक, बैठकबाट ठोस कार्ययोजना, कार्यक्रमहरु गर्दै अरु भन्दा फरक बनेर उदाहरण बन्नुपर्नेमा जोड दिए । उनले अनेरास्ववियु रुपन्देही क्याम्पस कमिटीले सिर्जनशिल कार्य गरेकोमा आयोजकलाई धन्यवाद दिदै आगामी दिनमा अझै सहयोग गर्न परे पछि नपर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै सञ्चारकर्मी मीनाक्षी न्यौपानेले हरेक युवाहरु जिम्मेवार हुनुपर्ने र आफ्ना कारणले अरुलाई असर पार्न नहुनेमा जोड दिइन् । 

तिलोत्तमा नगर कार्यपालिका सदस्य तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रवि सेञ्चुरीले पहिला र अहिलेको भिन्नताको के छ ? वर्तमान समयमा युवाहरूसँग अवसर नै अवसर भएको र चुनौती पनि भएको बताए । हरेक युवाहरुले स्थानीय तहबारे जानकारी लिन र जोडिन आवश्यक भएको उनको भनाइ थियो ।

अनेरास्ववियु रुपन्देही क्याम्पस कमिटीकी अध्यक्ष कमला बन्जाडेको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, कमिटीकी सह–सचिव सरिता गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा वक्ताहरु सञ्चारकर्मी मीनाक्षी न्यौपाने, राष्ट्रिय युवा परिषदका बोर्ड सदस्य तथा तिलोत्तमा नगर कार्यपालिका सदस्य रवि सेञ्चुरी, अनेरास्ववियु केन्द्रिय सदस्य सरोज ठकुरी, जिल्ला सदस्य सागर न्यौपानेको उपस्थिति रहेको थियो ।