
बुधवार , श्रावण २५, २०७९
भैरहवा, २५ साउन ।
लायन्स क्लब अफ भैरहवा लिगेसीले दुवै मृगौलामा समस्या भएका १३ वर्षिय बालकको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–४, गुण्डीका १३ वर्षिय बालक संघर्ष चौधरीको उपचारमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा समस्या भएको सामाजिक संजालमार्फत जानकारी पाएपछि रु. ३० हजार प्रदान गरिएको उपाध्यायले जानकारी दिए । उनले भने, ‘हालै मात्र स्थापना भएको क्लबको पहिलो कार्यक्रम अन्तर्गत सहयोग रकम हस्तान्तरण गरेका छौं, यो रकम प्रयाप्त नहुन सक्छ, बालकको थप उपचारका लागि आगामी दिनमा पनि सहयोग गर्नेछौं । ’ उनले अन्य संघ–संस्थालाई पनि सहयोग गर्न आग्रह गरे ।
नेपालमा लायन्स क्लब स्थापना भएको ५१ वर्ष पुरा भएको समेत अवसर पारेर भैरहवामा संघर्षका दिदी उषा चौधरीलाई रकम हस्तान्तरण गरिएको क्लबका संस्थापक प्रथम उपाध्यक्ष राजन शुक्लाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका संस्थापक डिष्ट्रिक क्याबिनेट ट्रेजरर विनोद खरेलले सेवा नै लायन्सको उद्देश्य भएको बताए । उनले बालक संघर्ष चौधरीको उपचारका लागि अन्य क्लबहरुलाई पनि आफूले आह्वान गर्ने बताए ।
लायन्स क्लब अफ भैरहवा लिगेसीका संस्थापक सचिव नारायण प्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बालकको थप उपचारको लागि काठमाडौं पठाइएको उनको दिदी उषा चौधरीले जानकारी दिइन् । संघर्षको उपचारका लागि उषा चौधरीको नाममा सिटिजन्स बैंकमा रहेको खाता नम्बर १२००१०००००९३२०४९ वा ई–सेवा नम्बर ९८१७५१७२४७ मार्फत रकम जम्मा गरी सहयोग गर्न सकिने परिवारले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij