मंगलवार , श्रावण २४, २०७९
बुटवल, २४ साउन ।
बुटवलमा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नम्बर १७ बाट नापजाँचको काम उद्घाटन गरेका हुन् ।
नापजाँचको काम सुरुवात गर्दै नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने बताए । जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न उनले आग्रह गरे ।
बुटवल क्षेत्रमा लामो समयदेखिको भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम सुरु भएको उनले बताए ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरे । उनले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम सुरु गर्न सम्भव भएको बताए ।
कार्यक्रममा बोल्दै वडा नम्बर १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मीले नापजाँचमा वडाको तर्फबाट समन्वय र सहकार्य हुने बताए ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयसँग आग्रह गरे । नापी अधिकृत कपिल ज्ञवालीले स्थानीयले सहयोग गरेमा नापीको काम तीव्र गतिमा अघि बढ्ने बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij