२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

बेलहिया सडकका ठेकेदारले भने– शनिबारदेखि काम सुरु गर्छौं

मंगलवार , श्रावण २४, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २४ साउन ।
    बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजनाअन्तर्गत रुपन्देहीको बेलहिया नाका क्षेत्रमा अलपत्र पारिएको सडक निर्माण कार्य शनिवारदेखि सुरु गर्ने ठेकेदार कम्पनीले प्रतिवद्धता जनाएको छ । बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजना अन्तर्गत निर्माणधिन सडक अलपत्र पारिएपछि सोमबार ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनसहित सरोकारवालाहरुको बैठकले बुटवल र सिद्धार्थनगर क्षेत्रमा अलपत्र रहेको सडक छिट्टै सम्पन्न गर्नुपर्नेसहित प्रमुख प्रशासकीय अधिकृतहरुको संयोजकत्वमा विशेष अनुगमन सहजीकरण समिति निर्माण गरिएको थियो । 

    सोही निर्णयअनुसार मंगलबार सिद्धार्थनगर नगरपालिकामा सडक निर्माणका लागि बसेको बैठकमा ठेकेदार कम्पनीका प्रतिनिधि सुमित श्रेष्ठले आफूले साउन २८ गते (शनिवार) देखि निर्माण कार्य सुरु गर्ने प्रतिवद्घता जनाए । उनले साईट क्लियर भएको स्थलमा आफुले निर्माण सुरु गर्ने दशैँसम्म सम्पन्न हुने गरी काम गर्ने बताए । 

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले मुलुक/नगरको सौन्दर्यकरणका लागि निर्माण व्यवसायीको पनि भूमिका रहने भएकोले भूमिका खेल्न आग्रह गरे । उनले फूलमाला लगाएर पठाउन सक्ने गरी गुणस्तरीय काम छिटो सम्पन्न गर्न आग्रह गरे । 

    विशेष अनुगमन सहजीकरण समितिका संयोजक सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले शनिबारदेखि सुरु हुने सडक निर्माणको आफूहरुले अनुगमन गर्ने र नागरिकलाई सास्ती नहुने गरी निर्माण सम्पन्न गर्न आग्रह गरे ।

    बैठकले साईट क्लियर भएको स्थानमा साउन २८ गते देखि सब–बेसको कार्य गर्ने, साईट क्लियर नभएको स्थानमा नगरपालिका लगायत सरोकारवाला निकायहरुबाट आवश्कता अनुसार यथोचित सहयोग तथा समन्वय गर्ने निर्णय भएको समिति संयोजक एंव नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । 

    त्यस्तै निर्माण व्यवसायीले पेश गरेको कार्य योजनाअनुसार समयमै कार्य पूरा गर्ने र आयोजना कार्यालयले प्रभावकारी अनुगमन गर्ने, समितिको बैठक कम्ती १५ दिनमा बस्ने निर्णय भएको उनले बताए ।