बुटवल । बुटवल उपमहानगरपालिका भित्र बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप शुरु भएको छ ।
५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार आइतबार देखि बुटवलका १०३ वटा विद्यालयमा खोप कार्यक्रम सञ्चालन भएको छ ।
‘बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरुमा बुटवल उपमहानगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोली खटिएर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ, उनले भने–यी विद्यालयहरुमा यस अघि खोप लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा र पहिलो खोप लगाउन छुट भएका बालबालिकाहरुलाई पहिलो मात्रा खोप दिइनेछ ।’
बुटवल उपमहानगरपालिकाका खोप संयोजक कल्पना भुसालका अनुसार साउन २२ गते आइतबार देखि साउन ३१ गते मंगलबारसम्म खोप अभियान सञ्चालन हुनेछ । ‘बुटवल उपमहानगरपालिकाका लागि आवश्यक खोप हामीसँग आइसकेको छ, उनले भनिन् – थपखोप आवश्यक भएमा थप खोप ल्याएर लक्षित बालबालिकालाई खोप दिइनेछ ।’ उनले खोप कार्यक्रमका लागि सम्बन्धित विद्यालयहरुलाई पूर्व जानकारी दिइसकेको र सोही अनुसार खोप अभियान सञ्चालन भएको बताइन।