शनिवार , श्रावण २१, २०७९
तिलोत्तमा, २१ साउन ।
शंकरनगर सामुदायिक वन उपभोक्ता समूह, तिलोत्तमा रुपन्देहीले तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुलाई शुभकामनासहित बधाई ज्ञापन गरेको छ । स्थानीय तह निर्वाचनबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख, सामुदायिक वनको सेवा क्षेत्र अन्तर्गत पर्ने तिलोत्तमा १–४ का वडाअध्यक्ष र सदस्यहरुलाई समूहको कार्यालयमा आयोजित कार्यक्रममा सफल कार्यकालको कामना गर्दै सम्मानसहित बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले मानिसको मानसिकता र सोचाईमा परिवर्तन नआएसम्म कुनै पनि क्षेत्रको विकास र परिवर्तन सम्भव नहुने बताए । उनले वनलाई उत्पादनसँग जोडेर युवा, महिलाहरुलाई आयमूलक काममा सरिक गराउनुपर्नेमा जोड दिए । शंकरनगर सामुदायिक वनमा आन्तरिक र बाह्य पर्यटक भित्राउँदै वनलाई प्राणी उद्यान पार्कको रुपमा विकास गरी आम्दानीको गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । नगरपालिकालाई हरित शहरको रुपमा विकास गर्नका लागि नगरपालिका नगर क्षेत्रभित्र रहेका सबै सामुदायिक वनसँग सहकार्य गरेर अगाडी बढ्ने नगरप्रमुख खाँणले बताए ।
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतले सामुदायिक वन तिलोत्तमा नगरपालिकासंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । वनको क्षेत्रफल ठूलो भएकाले काठ दाउरासँगै वन्यजन्तुको चोरी सिकारी नियन्त्रण गर्न चुनौति रहेकाले चोरी निकासी नियन्त्रणका लागि आवशयक सहयोग गर्न नगरप्रमुख खाँणसँग आग्रह गरे । शंकरनगर सामुदायिक वन नमुना सामुदायिक वनको रुपमा स्थापित भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनलाई बढावा दिनेखालका कार्यक्रमका लागि सामुदायिक वन तिलोत्तमा नगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको अध्यक्ष बस्नेतले बताए ।
स
मूहकी उपाध्यक्ष कमला ज्ञवालीको स्वागत तथा सचिव कालिका अधिकारीको संचालनमा भएको कार्यक्रममा समूहका सल्लाहकार राम गिरी, प्रेस सल्लाहकार खिमानन्द भट्टराई, कार्यपालिका सदस्य सावित्रा आचार्य, तिलोत्तमा–१ का वडाध्यक्ष फर्सुराम गिरी, २ का अध्यक्ष डिलबहादुर भट्टराई, समूहका सदस्य भरत ज्ञवाली लगायतले बोल्दै शंकरनगर सामुदायिक वनको विकास र संवद्र्धनका लागि सबैको साथ र सहियोग आवश्यक रहेको बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij