शनिवार , श्रावण २१, २०७९
तिलोत्तमा, २१ साउन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर सामुदायिक वन तिलोत्तमा १–४, यस वर्षको ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’ का लागि छनोट भएको छ । वनको संरक्षण, दिगो उपयोगसम्बन्धी कार्यक्रम सञ्चालन, जैविक विविधताको संरक्षण, डढेलो नियन्त्रण, समूहमा सुशासन कायम राख्न सफल, दिगो उपयोग, वातावरण सन्तुलन तथा गरीबी न्यूनीकरणमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागले शंकरनगर सामुदायिक वनलाई पुरस्कारका लागि छनोट गरेको हो ।
वनको संरक्षण र सम्वद्र्धसँगै पर्यटकीय क्षेत्रमा समेत राम्रो काम गरेको, वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गरी वातावरण संरक्षणमा समेत विशेष योगदान पुर्याएका कारण नेपालभरीका सामुदायिक वन उपभोक्ता समूहबाट छनोट भइ यस वर्षको गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार–२०७९ का लागि छनोट हुन सफल भएको सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेतले बताए ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागले हरेक वर्ष देशभरीका सामुदायिक वनमध्येबाट उत्कृष्ट छनोट गरी गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कारको राशी नगद रु. १ लाख र प्रमाणपत्र रहेको छ ।
देशभर रहेका सामुदायिक वनहरुबाट राम्रो काम गर्ने सामुदायिक वनहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रुपमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारको व्यवस्था गरिएको हो । मुलुकभरी २३ हजार सामुदायिक वन रहेका छन् ।
वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभागले स्थापना गरेको यो पुरस्कार यही साउन २५ गते काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर प्रदान गरिने विभागले जनाएको छ ।
त्यस्तै साझेदारी वनतर्फ पनि रुपन्देहीकै लुम्बिनी साझेदारी वन व्यवस्थापन समूह भैसाही प्रथम भइ ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ का लागि छनौट भएको छ । कर्मचारीतर्फ डिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत कर्मचारी (वन रक्षक) छविलाल अर्जेल द्वितीय भइ गणेश बहादुर शाही संरक्षण पुरस्कारका लागि छनौट भएका छन् । शंकरनगर, भैसाही र वन रक्षक अर्जेललाई वन विभागले साउन २५ गते काठमाडौंमा पुरस्कार प्रदान गर्ने छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij