शनिवार , श्रावण २१, २०७९
बुटवल, २१ साउन ।
रोटरी क्लब बुटवल डाउनटाउनको आयोजनामा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) परिसरमा रहेको रोटरी चिल्ड्रेन पार्क सरसफाई गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना तथा श्री नं २२ बाहिनी अडा योगीकुटी ब्यारेक, रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, बुटवल रामापिथेकस, बुटवल सिर्नजी, इन्ट्रयाक्ट क्लब अफ एलायन्स डाउनटाउन, इनरह्वील क्लब अफ बुटवल जितगढी लगायत संस्थाको सहयोग शुक्रबार कार्यक्रम गरिएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सरसफाईमा सहभागी हुँदै अस्पतालमा निर्माण भएको पार्कलाई व्यवस्थित र सौन्दर्यीकरण गर्ने काममा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
क्लबका निवर्तमान अध्यक्ष पिताम्बर ज्ञवालीले नियमित सरसफाई र गोडमेलमा ध्यान दिनुपर्ने बताए । सन् २००४ मा क्लबका अध्यक्ष यज्ञ प्रसाद कसजुको बेला गार्डेन बनाउने काम सुरुवात भएको भन्दै उनले केही वर्षसम्म फूलहरु गोडमेल र सरसफाईका लागि माली (कामदार) राखिएको बताए । सामाजिक संस्थाले वार्षिक रुपमा ५० हजार रुपैयाँ बढी खर्च गरेर सौन्दर्यीकरणको काम गरेको उनले बताए ।
क्लबका अध्यक्ष भरत रानाले अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाहरुलाई थोरै समय भए पनि रिफ्रेस हुने गरी रोटरी क्लब अफ डाउनटाउनले रोटरी चिल्ड्रेन पार्क निमार्ण गरेको बताए । पार्कमा बस्दा थोरै समय भए पनि बिरामी र आफन्तलाई आनन्द र शितलता प्रदान गर्ने उनले बताए ।
कार्यक्रममा क्लबका एजी प्रेम भ्रुतेल, २२ नं बाहिनी का मेजर नरेश्वर अर्याल, डिष्ट्रिक ट्रर्निङ को–चेयर विनोद कोइराला, कार्यक्रम संयोजक शंकर ज्ञवालीले पार्कको संरक्षणमा स्थानीय सरकारबाट पहल गर्नुपर्ने बताए ।
सरसफाई कार्यक्रमलाई बाहिनीका १ सय २० जना सैनिकहरुबाट श्रमदान गरिएको क्लब युथ चेयर तथा कार्यक्रम सह–संयोजक भानु केसीले बताए । करिब डेढ बिगाहा क्षेत्रफलमा रोटरी गार्डेन फैलिएको छ । पार्कमा बगैचा, रोटरीको लोगो, विश्रामस्थल, बच्चाहरुलाई पिङ लगायतका पूर्वाधार निर्माण भएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij