बिहिवार , श्रावण १९, २०७९
भैरहवा, १९ साउन ।
लुम्बिनी विश्व शान्ति मञ्चले विभिन्न कार्यक्रम गरेर हिरोसिमा दिवस मनाउने भएको छ । मञ्चले आगामी साउन २१ गते शनिबार रुपन्देहीमा उक्त दिवस मनाउने भएको हो ।
विश्वमा आणविक हतियारको प्रयोगलाई निरुत्साहित गर्न दवाव दिने उद्देश्यले दिवस मनाउन लागिएको मञ्चले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जापानको हिरोसिमा शहरको प्रतीकस्वरुप लुम्बिनीमा २१ वटा कपुरका विरुवा रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताए । त्यस्तै भैरहवामा १ सय ८ वटा ओलियन्डर फूलका विरुवा रोप्ने कार्यक्रम समेत रहेको गौतमले जानकारी दिए । दिवसको अवसरमा दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । मुलुकभर बाघको संख्या वृद्वि भएकाले विश्व वन्यजन्तुु कोषका प्रमुख डा.घनश्याम गुरुङलाई सम्मान गर्ने कार्यक्रम रहेको गौतमले बताए । दिवसको दिन शनिबार साँझ भैरहवास्थित लुम्बिनी गेटमा मैनवत्ती प्रज्वलन गरिने उनको भनाइ छ ।
मञ्चले सन् २०३० सम्म मुलुकभर १० लाख विरुवा रोप्ने लक्ष्य लिएको र अहिलेसम्म संस्थाले १४ हजार विरुवा रोपिसकेको गौतमले बताए । रोपिएकामध्ये ९ हजार विरुवा हुर्केको उनले जानकारी दिए । वृक्षारोपणका साथै संरक्षण अभियानमा समेत लागेको उनले बताए । जलवायू परिवर्तनका कारण संकट आएकाले वातावरण संरक्षण गर्नेतर्फ अग्रसर भएको गौतमले बताए ।
संस्थाले विगत ८ वर्षदेखि लुम्बिनीको विश्वभर प्रचार गर्दै आएको जनाएको छ । बौद्व धर्मावलम्बी रहेको मुलुकमा पुगेर लुम्बिनीको प्रवद्र्धन गरिरहेको उनले बताए । अध्यक्ष गौतमले भने, ‘लुम्बिनीको पर्यटन प्रबद्र्धन होस् भन्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएका छौं ।’ सन २०२२ मा लुम्बिनीमा विश्व शान्ति महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा कलाकार मनिषा कोइराला, भैरहवाबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने जजिरा एयर, सांगीतिक समूह सुरसुधा र अग्रज पत्रकार चेतन पन्तलाई विश्व शान्ति सम्मान प्रदान गरिएको जनाए ।
आगामी वर्षदेखि लुम्बिनी क्षेत्रमा कार्यरत रहेर बुद्व र लुम्बिनीको प्रबद्र्धनमा काम गर्ने एकजना पत्रकारलाई पनि शान्ति पुरस्कार प्रदान गर्नेबारे लुम्बिनी प्रेस क्लबसँग सहकार्य गर्नेबारे सहमति भएको गौतमले जानकारी दिए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले लुम्बिनी विश्व शान्ति मञ्चले विभिन्न महत्वपूर्ण कार्य गर्दै आएको बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij