बुधवार , श्रावण १८, २०७९
भैरहवा, १८ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर बुधबारदेखि सुरु भएको छ । वडा नम्बर ४ को वडा कार्यालयमा रहने गरी शिविर सुरु भएको कार्यवाहक वडाअध्यक्ष हरि बहादुर के.सी.ले बताए । शिविर आगामी भदौ १ गतेसम्म सञ्चालन हुने उनले बताए । कार्यवाहक वडाअध्यक्ष के.सी.ले भने, ‘दर्ता शिविर बिहान १० बजेदेखि साझ ५ बजेसम्म सञ्चालन हुनेछ ।’
राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविरमा नागरिकलाई कसरी सहज रुपमा सुविधा प्रदान गर्न सकिन्छ भन्नेतर्फ लागेको उनले बताए । उनले भने, ‘दैनिक १५० जना सेवाग्राहीलाई सेवा दिने लक्ष्य छ, सेवाग्राहीको लागि पानी र टेण्टको व्यवस्था गरेका छौं, स्वयंसेवकहरुलाई पनि खटाइएको छ । ’ भिडभाड हुन नदिनका लागि व्यवस्थापन गर्न लागिपरेको उनको भनाइ छ ।
सिद्धार्थनगर–४ का सतिशचन्द्र कहारले वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविरको व्यवस्थापन देख्दा खुसी लागेको बताए । उनले भने, ‘यहाँ पानीको व्यवस्था तथा स्वयंसेवक खटाइएको छ, प्रत्येक दिन यस्तै गरी सुविधा प्रदान गर्न आवश्यक छ ।’
साउन २१ र २८ गते शनिबार तथा २७ गते जनैपूर्णिमाको दिन सार्वजनिक विदा परेकाले उक्त दिन शिविर बन्द हुने वडा सचिव राजु सिंह कार्कीले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij