
बुधवार , श्रावण १८, २०७९
भैरहवा, १८ साउन ।
श्री दरखसवा महिला सामूदायिक समूह सिद्धार्थनगर–३, रुपन्देहीले बधाई तथा शुभकामना कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ । समूहले २०७८ सालको एसईई र कक्षा ८ उत्तीर्ण गरेका ११ जना महिलाहरुलाई सम्मान गरेको हो ।
समूहकी अध्यक्ष रुपमाया पुनले विभिन्न कारणले पढाइ पुरा गर्न नसकेका महिलालाई लक्षित गर्दै कक्षा सञ्चालन गरिएको र सो कक्षामा सहभागी भइ उत्तीर्ण भएका ११ जना महिलालाई सम्मान गरिएको बताइन् । २०७८ मंसिरदेखि चैतसम्म सञ्चालन गरिएको कोचिङ क्लासमा सहभागी भएका कक्षा ८ का ८ जनामध्ये ५ जना र कक्षा १० का ६ विद्यार्थीमध्ये ६ जना उत्तीर्ण भएको पुनले जानकारी दिइन् । उनले भनिन्, ‘विभिन्न कारणले पढाईलाई निरन्तरता दिन नसकेका महिलाहरु अहिले कक्षा ८ र एसईई परीक्षा समेत उत्तीर्ण गर्नुभएको छ, उहाँहरुको हौसला बढाउन सम्मान कार्यक्रम गरेका हौं । ’ समूहले महिला तथा बालबालिकाका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनले बताइन् । शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने सोचमा रहेको उनको भनाइ थियो । महिलाहरु घरको विभिन्न जिम्मेवारीसँगै सामाजिक कार्यमा समेत अग्रसर भएको उनले बताइन् ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले शिक्षक सबैभन्दा ठूलो ईश्वर भएको बताए । उनले परीक्षामा सहभागी भइ उत्र्तीण हुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा कक्षा सञ्चालन गर्ने श्री दरखसवा महिला सामूदायिक समूहलाई धन्यवाद दिए ।
शिक्षिका ममता थापाले विभिन्न कारणले पढाईलाई निरन्तरता दिन नसकेका महिलाहरु परीक्षामा सहभागी भइ उत्र्तीण भएकोमा खुसी लागेको बताइन् । कक्षा ८ उत्तीर्ण गरेकी सीता बुढाप्रितीले विभिन्न कठिनाइ र घरायसी कामका बाबजुद यहाँसम्म आइपुग्दा खुसी लागेको बताइन् । उनले भोलिका दिनमा पनि अगाडि बढ्छौ भन्ने आशा रहेको बताइन् ।
एसईई उत्तीर्ण गरेकी सुनिता न्यौपानेले यहाँसम्म आउने वातावरण मिलाउने श्री दरखसवा महिला सामूदायिक समूहलाई धन्यवाद दिइन् ।
श्री दरखसवा महिला सामूदायिक समूहकी अध्यक्ष तथा शिक्षिका रुपमाया पुनको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, नेपाल मगर लेखक संघ लुम्बिनी प्रदेशका अध्यक्ष उमेश थापा लाटो मगर लगायतको आतिथ्यता, समूहकी उपाध्यक्ष अमृता रानाको स्वागत तथा कोषाध्यक्ष चन्दा श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पढ्ने रहर र इच्छा भएमा उमेरले छेक्दैन भन्ने भनाइलाई परीक्षामा विद्यार्थीले पाएको सफलताले पुष्टी गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij