२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

भैरहवाको विकासका लागि नगरपालिकाको एडिबीसँग छलफल

सोमवार , श्रावण १६, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १६ साउन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको विकासका लागि एसियाली विकास बैंक (एडिबी) सँग छलफल गरिएको छ । सोमबार सिद्धार्थनगर नगरपालिकामा विकासका योजना सञ्चालनका लागि नगरपालिका र एडिबीबीच छलफल भएको हो ।

    छलफलको क्रममा एडिबीको वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले एडिबीले सञ्चालन गर्ने योजना लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै नगरपालिकाको तर्फबाट योजना प्रमुख जीवन अर्यालले नगरको विकासका लागि डण्डा करिडोर, बेलहिया स्थित सवारीसाधनको पार्किङ सहितको व्यावसायिक भवन, रिङ्गरोड, सडक निर्माण लगायत योजनहरू सञ्चालन गर्न सकिने विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    'नगरको विकासका लागि एडिबीसँग भएको छलफल सकारात्मक रह्यो' सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भने, 'छिट्टै नै नगरमा पूर्वाधार विकासका योजनाहरू सञ्चालन हुनेछन् ।'

    नगरको फोहोरमैला व्यवस्थापनका लागि पनि छलफल भएको छ । विगतमा जग्गा अभावमा योजना सञ्चालन हुन नसकेको र जग्गा प्राप्त भएमा योजना सञ्चालन गर्न सकिने एडिबीको वरिष्ठ सहरी विकास विज्ञ शर्माले बताइन् ।

    उनले फोहोरमैला व्यवस्थापनका लागि विगतमा उपलब्ध गराइएको डिपिआर लगायत कागजपत्रहरू अपडेट गरेर पुनः उपलब्ध गराउन नगरपालिकालाई आग्रह गरिन् । नगरप्रमुख खानले नगरको विकासका लागि आफ्नो एकल प्रयासले मात्रै नभई सबै सरोकारवालाहरूको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सबैको सहयोग पाए केही वर्षमै नगर मुलुककै नमुना नगरको रूपमा स्थापित गर्न सकिने बताए । न्युज कारखाना