२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

भास्करानन्द–माया शर्मा अक्षयकोषद्वारा नवदुर्गा माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण

आइतवार , श्रावण १५, २०७९

भैरहवा, १५ साउन । 
भास्करानन्द–माया शर्मा अक्षयकोष सिद्धार्थनगर–८, रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–४, दोगहरास्थित श्री नव दुर्गा माध्यमिक विद्यालयका तीनजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्ष ७ वटा सामूदायिक विद्यालयका २४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको संस्थाका संस्थापक अध्यक्ष भास्करानन्द शर्माले बताए । 

यसअघि साउन ७ गते भैरहवामा आयोजना गरिएको छात्रवृत्ति कार्यक्रममा उपस्थित हुन नसकेका तीन जना विद्यार्थीहरुलाई मंगलबार (साउन १० गते) विद्यालयमै पुगेर वितरण गरिएको शर्माले जानकारी दिए । छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा ४ का राहुल केवट, कक्षा ८ की चादनी पासी र कक्षा ९ की बन्दना चौधरी रहेका छन् ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले भास्करानन्द–माया शर्मा अक्षयकोषले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नु सराहनीय रहेको बताइन् ।

कार्यक्रममा श्री नव दुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द यादव, प्रधानाध्यापक दीपेन्द्र कुमार गौड, शिक्षकशिक्षिका, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

296086587_775799767188995_8563330491021108542_n.jpg

२०७२ सालमा स्थापना भएको अक्षयकोषले २०७३ सालदेखि छात्रवृत्ति वितरण सुरु गरेको संस्थापक अध्यक्ष शर्माले बताए । कोभिडका कारण २०७७ र २०७८ सालमा छात्रवृत्ति वितरण गर्न नसकिएको उनले जानकारी दिए । उनले भने, ‘अक्षयकोषमा ३३ लाख रुपैयाँ पुर्याइएको छ ।’

अक्षयकोषबाट कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई ५ हजार, ६ देखि ८ सम्म अध्ययनरतलाई ७ हजार र कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई १० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए । आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको उनले बताए ।