भैरहवा, १४ साउन ।
नेपाल प्रज्ञा प्रतिष्ठान र प्रगतिशील लेखक संघ नेपाल, शाखा कार्यालय, रूपन्देहीले (प्रलेस)बीच प्रगतिशील लेखनसम्बन्धि अन्तरक्रिया कार्यक्रम तिलोत्तमामा सम्पन्न भएको छ । प्रलेस रूपन्देहीका अध्यक्ष तथा वरिष्ठ छन्दकवि कविराज पौडेलको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ तथा काव्यविभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको विशेष आतिथ्यतामा समकालीन प्रगतिशील साहित्यबारे विचार विमर्श तथा नवनिर्वाचित प्रगतिशील लेखक संघ केन्द्रीय कमिटी सचिव दल बहादुर गुरुङ, सदस्य हृदय लेकाली तथा प्रदेश कमिटी उपाध्यक्ष तिलक लामिछाने साथै सह–सचिव रिंकु वाग्लेलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न भएको हो ।
जनकवि लेखनाथको प्रतिमा अनावरण गर्ने सिलसिलामा कपिलवस्तु आएका प्राज्ञहरू प्रगतिशील स्रष्टाहरू तथा नेपाली बामआन्दोलनका कलमवीरू रहेकाले रूपन्देहीमा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा काव्यविभाग प्रमुखले नेपाली प्रगतिशील आन्दोलन आलोचनात्मक यथार्थवाद र सामाजिक यथार्थवाद भन्दा माथि उठ्न नसकेको बताए । समाजवादी यथार्थवादतिर ढल्कन नसकेको उनको जिकिर थियो ।
त्यस्तै सदस्य सचिव तथा दर्शन विभाग प्रमुखले पौरस्त्य दर्शन र सँस्कृतिका सकारात्मक कुरालाई लिनुपर्ने र दृष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले प्रलेसको इतिहास र आरोह अवरोहलाई राख्दै बामपन्थीहरूको स्रष्टाहरूको एउटा मात्र साझा संगठन पार्टी जस्तै टुटफुटबाट गुज्रेकोप्रति चिन्ता व्यक्त गरे । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा परिणत भइसकेपछि र प्रगतिशील स्रष्टाहरूको उपस्थिति भएपश्चात् प्रगतिशील स्रष्टाहरूको पक्षमा थुप्रै कामहरू भएको उनले जानकारी गराए ।
कार्यक्रममा प्रगतिशील लेखक संघ,नेपाल, केन्द्रीय कमिटी सचिव दल बहादुर गुरुङ, सदस्य हृदय लेकाली तथा प्रदेश कमिटी उपाध्यक्ष तिलक लामिछाने, सह–सचिव रिंकु वाग्ले, जिल्ला कोषाध्यक्ष–हिरालाल र जिल्ला सदस्यहरू माधव पौडेल, यज्ञलाल सुवेदी, सिर्जना खनाल, गितारानी बलाल थापा र छन्दकवि सरु ज्ञवालीको उपस्थिति रहेको थियो।
प्रलेस, रूपन्देहीका उपाध्यक्ष यज्ञप्रसाद न्यौपानेको स्वागत तथा सचिव कृष्ण गाउँलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।