
शुक्रवार , श्रावण १३, २०७९
भैरहवा, १३ साउन ।
लुम्बिनी वल्ड स्कूल तिलोत्तमा नगरपालिका–१३ मधवलिया, रुपन्देहीमा ‘बेस्ट ह्याण्ड राइटिङ ट्रेनिङ’ (तालिम) समापन गरिएको छ । विद्यार्थीहरुको अक्षर राम्रो र स्पष्ट बनाउन तथा लेखन क्षमता बढाउनका लागि ६ दिने तालिम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । प्रशिक्षक हिमांशु सापकोटा (विनोद) ले अक्षर लेखन तरिकाका बारेमा सहजीकरण गरेका थिए ।
तालिममा कक्षा १ देखि ८ सम्म अध्ययनरत १५६ जना विद्यार्थीहरुको सहभागीता रहेको विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद ढकालले बताए । उनले विद्यालयले विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘तालिममा विद्यार्थीहरुको उत्साहजनक रुपमा सहभागीता रहेको थियो ।’ अभिभावकले दिनुभएको हौसलाले उर्जा प्रदान भएको उनको भनाइ थियो । विद्यालयले अझै धेरै काम गर्न बाँकी रहेको ढकालले बताए ।
विद्यालयका सञ्चालक गोकर्ण पाण्डेले विद्यालयलाई फरक तरिकाले लैजान विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । उनले प्रतिवद्धता अनुसार कार्यान्यवन गरिएको बताए । विद्यालयकी भाइस प्रिन्सिपल लजिता शर्माले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले विभिन्न कार्यक्रम गर्दै आएको बताइन् । प्रशिक्षक हिमांशु सापकोटा (विनोद)ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले सिकेका कुरा व्यवहारमा उतार्न विद्यार्थीहरुलाई आग्रह गरे ।
तालिममा सहभागी कक्षा ७ मा अध्ययनरत विद्यार्थी आध्या बडालले लुम्बिनी वल्ड स्कूल गतिविधि आधारित विद्यालय भएको बताइन् । उनले ६ दिने तालिमले अक्षर राम्रो बनाउन सहयोग गर्ने बताइन् ।
गोकर्ण पाण्डेको अध्यक्षता तथा लजिता शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका कोषाध्यक्ष विजय कुमार गुप्ता, सञ्चालक समिति सदस्य प्रेमनारायण बेल्बासे, डा. मिन प्रसाद खनाल, अनामिका बस्याल जैसवाल लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij