मंगलवार , श्रावण १०, २०७९
भैरहवा, १० साउन ।
ओभरलोडलाई छुट दिँदा नेपाली ट्रक व्यवसायी मर्कामा परेको गुनासो गरेका छन् । रुपन्देही जिल्लाका तत्कालिन प्रजिअ अस्मान तामाङको संयोजकत्वमा यातायात व्यवसायीसँग गत भदौ १८ गतेको निर्णय कार्यान्वयन हुनुपर्ने ट्रक यातायात व्यवसायीले माग गरे । नेपाली ट्रकहरु थन्केको थन्कै भएको र भारतीय ट्रक निर्वाध नेपालभर चलेको उनीहरूको दुःखेसो छ । सरकारले ७ वर्षपछि असार २९ गते समायोजनसहित लागु गरेको भाडा दर कार्यान्वयन हुनुपर्ने, ओभरलोड गाडीलाई भार मिलान गरी चलाउनुपर्ने, ढुवानी प्रणलीलाई व्यवस्थित गर्नुपर्ने, भारतीय गाडीलाई नेपालले प्रोत्साहन नगर्न समेत आग्रह गरेका छन् ।
२०७८ भदौ १८ गते भएको मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धि बैठकमा मालवाहक सवारीसाधनको भारवाहन नियमनसम्बन्धि निर्देशिका २०७४ बमोजिम भन्सार विन्दुमा भन्सार जाँचपास भइ निस्कने मालवाहक सवारीसाधनहरु निर्देशिकामा उल्लेख भए बमोजिम संचालन गर्ने, भारवाहन क्षमता भन्दा बढी क्षमतामा ढुवानी गरेका सवारीसाधनहरुको उद्गम स्थलमै तौल पुलमा भारवाहन क्षमता तौल गरी बढी पाइएमा पल्टी गरी ढुवानीको प्रबन्ध मिलाउने, र भन्सार विन्दुबाट जाँचपास भइ निस्केका सवारीसाधनको नजिकको तौल पुलमा तौल गरी बढी भारवाहन गरी ढुवानी गरेको पाइएमा सम्बन्धित ढुवानीकर्ताले सामानको पल्टी गरी नेपाली ढुवानीका साधनमा ढवानीको प्रबन्ध मिलाउने भन्ने निर्णय भएपनि कार्यान्वयन नभएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्कीले बताए ।
निर्णय कार्यान्यनका लागि लुम्बिनी ट्रक व्यवसायी संघसँगको सहकार्यमा साउन १ गतेदेखि बेलहिया बाइपासमा पार्किङ बनाए पनि प्रहरी र प्रशासनले कार्यान्वयन गराउनुको साटो ओभरलोडलाई निरन्तरता दिएको समितिका महासचिव हरि प्रसाद कंडेलले बताए । भारतिय एउटा गाडीले ३ वटा गाडीको भार बोक्दा समेत प्रहरीले जरिवाना काटेर छोड्ने गरेको छ, आभेरलोडले सडक, पुल र पूर्वाधारहरु ध्वस्त बनाउनुका साथै नेपाली ट्रक व्यवसायीको लगानी डुब्ने अवस्थामा हुँदा पनि राज्यबाट सहयोग नभएको लुम्बिनी ट्रक व्यवसायी संघका महासचिव रुमाखर गौतमले बताए ।
भैरहवामा लुम्बिनी ट्रक व्यवसायी संंघ र पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी साउन १ गतेबाट लागू गरेको पार्किङमा भार मिलान गरी मालवाहक गाडी नपठाए आन्दोलन गर्ने चेतावनी दिए । उनले १५ गतेको वैठक बसी साउन महिनासम्मका लागि समय सीमा दिने र त्यसपछि पनि कार्यान्वयन नभएको पाइए ट्रक होल्ड गरी चाभी बुझाउनेसम्मको कार्यक्रम तय हुने बताए । (न्युज कारखाना)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij