सोमवार , श्रावण ९, २०७९
भैरहवा, ९ साउन ।
शुद्ध शाकाहारी खाना तथा नास्ता सर्वसुलभ मूल्यमा खुवाउने उद्देश्यले भैरहवामा मारवाडी भोजनालय सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही नजिकै रहेको मारवाडी सेवा संघको भवनमा भोजनालय सुरु भएको हो ।
भोजनालयको आइतबार एक कार्यक्रमकाबीच मारवाडी सेवा संघ भैरहवाका पूर्वअध्यक्ष तथा समाजसेवी नारायण प्रसाद अग्रवालले उद्घाटन गरेका छन् । उद्घाटनपश्चात बोल्दै अग्रवालले २०४८ सालमा संघको भवन निर्माणका लागि जग्गा खरिद गरेको बताए । उनले भने, ‘भवनको आवश्यकताको महसुस भएपछि यसका लागि जिल्ला प्रशासन कार्यालय नजिकै राम्रो ठाउँ पायौं, ठाउँठाउँमा संघको धर्मशाला र अतिथि सदन छन्, सफा र स्वादिष्ट खानाका लागि भोजनालय सञ्चालनमा आएको छ ।’ संघको स्थापनादेखि नै भोजनालय सञ्चालन गर्ने सोच रहेको उनको भनाइ थियो ।
मारवाडी सेवा संघ भैरहवाका अध्यक्ष हेमन्त अग्रवालले भोजनालयमा बिहान १० बजेसम्म खाजा, त्यसपछि साढे ११ देखि ३ बजेसम्म खाना र बेलुका ७ देखि साढे ९ बजेसम्म साँझको खानाको व्यवस्था गरिएको जानकारी दिए । भोजनालयमा नास्ता रु. १२५, खाना प्रतिप्लेट रु. १८० र स्पेशल थाली खाना रु. २५० मा उपलब्ध हुने उनले बताए । उनले नयाँ निर्माण भएको संघको भवनमा २० कोठा तथा पूरानो भवनमा पनि २० कोठा रहेको बताए । ‘दुईवटा भवनमा गरी ४० वटा कोठा तयार भएका छन्, ’उनले भने । सम्पूर्ण कोठालाई वाताअनुकुलित (एसीयुक्त) बनाउन लागिएको उनले जानकारी दिए । अग्रवालकाअनुसार नयाँ भवन निर्माणमा अहिलेसम्म २ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ । उनले नयाँ भवन ३–४ महिनामा उद्घाटन गरिने जानकारी दिए ।
संघका महासचिव अरुण कुमार अग्रवालले बाहिरबाट आउने तथा उद्योगमा कार्यरत मजदूर एवं स्थानीयलाई समेत मध्यनजर गर्दै सर्वसुलभ मूल्यमा शाकाहारी खाना खुवाउने उद्देश्यले भोजनालय सञ्चालनमा आएको बताए । भोजनालयको व्यवस्थापन मारवाडी सेवा संघले गर्ने उनले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij