
सोमवार , श्रावण ९, २०७९
भैरहवा, ९ साउन ।
इनरह्वील क्लब अफ लुम्बिनीको पाँचौ पद हस्तान्तरण कार्यक्रम तथा छैठौं पदस्थापन कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१/२२ की अध्यक्ष मीना नेपाल पन्थीले वर्ष २०२२/२३ की अध्यक्ष रुविता पुलामी कार्कीलाई पद हस्तान्तरण गरेकी थिइन् । वर्ष २०२२/२३ को उपाध्यक्षमा सविता तुलाधर, सचिवमा देवी बेल्बासे, कोषाध्यक्षमा कोपिला मरासिनी, सह-सचिवमा कमला भट्टराई, सह-कोषाध्यक्षमा मनु भुर्तेल, आइएसओमा पूजा न्यौपाने र एडिटरमा सिर्जना जोशी रहेका छन् । त्यस्तै क्लबका सदस्यमा बिना भण्डारी पाठक र नारायणी नेपाल रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि इन्टरनेशनल इनरह्वील डिष्ट्रिक ३५० नेपालकी डिष्ट्रिक चेयरपर्सन सीमा झाले इनरह्वीललाई चिनाउन बढी भन्दा बढी काम गर्नुपर्ने बताइन् । उनले सामाजिक क्षेत्रमा क्रियाशिल हुनुपर्नेमा जोड दिइन् ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पिछडिएको समुदायका महिलाका लागि कार्यक्रम गर्न क्लबलाई आग्रह गरिन् । क्लबले आत्मरक्षा तालिम सञ्चालन गर्नुपर्ने र त्यसका लागि नगरपालिकाले सहयोग गर्ने उनले बताइन् ।
इनरह्वील क्लब अफ लुम्बिनीकी संस्थापक अध्यक्ष ज्ञानु पौड्यालले इनरह्वील क्लब महिलाहरु आबद्ध संस्था भएको बताइन् । उनले नयाँ कार्यसमितिले रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिदै त्यसमा आफूहरुको साथ र सहयोग रहने बताइन् ।
वरिष्ठ अधिवक्ता तथा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष शिव गौडेलले इनरह्वील क्लब अफ लुम्बिनीले अन्य संघ–संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।
ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयकी क्षेत्रीय प्रमुख शान्ति सुवेदीले समाज परिवर्तनका लागि सोच परिवर्तनको आवश्यकता रहेको बताइन् ।
इनरह्वील क्लब अफ लुम्बिनी वर्ष २०२१/२२ की अध्यक्ष मीना नेपाल पन्थीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । उनले क्लबले रुपन्देही जिल्ला बाहिर पनि कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् । क्लबकी वर्ष २०२२/२३ की अध्यक्ष रुविता पुलामी कार्कीले क्लबलाई थप प्रगतिको बाटोमा लैजाने बताइन् ।
कार्यक्रममा इन्टरनेशनल इनरह्वील डिष्ट्रिक ३५० नेपालकी डिष्ट्रिक चेयरपर्सन सीमा झाको जीवनीको बारेमा इनरह्वील क्लब अफ लुम्बिनीकी पूर्वअध्यक्ष बीना अग्रवालले जानकारी गराएकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij