
शनिवार , श्रावण ७, २०७९
बुटवल, ७ साउन ।
रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१/०२२ का अध्यक्ष अशोक ज्ञवालीले वर्ष ०२२/२३ का अध्यक्ष मनोरथ अर्याललाई पद हस्तान्तरण गरेका थिए । क्लबका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरीले वर्ष ०२२/०२३ का अध्यक्ष अर्याललाई पदतथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
पद हस्तान्तरण कार्यक्रममा बोल्दै महानायक राजेश हमालले युवाहरु नै देश समृद्धि बनाउने बाहक रहेको भन्दै युवाहरु संगठित भएर लाग्नुपर्ने बताए । अहिलेका युवाहरुलाई तत्कालको तत्काल परिणाम चाहिने भए पनि त्यस्तो परिणाम दिगो नहुने भन्दै युवामा धैयर्ता, लगनशिलता र इमान्दारिता भए देशमा सुशासन र विकासले फड्को मार्ने बताए । धेरै युवाहरुमा विदेशमा गएपछि मात्र सफलता हात पार्न सकिन्छ भन्ने मनोभाव रहेको भन्दै नेपालमा थोरै लगानी तर नयाँपनको काम गरे पनि विदेशमा कमाउने भन्दा बढी रकम नेपालमै कमाउन सकिने उनको भनाइ थियो । पछिल्लो समय विकसित भइरहेको सामाजिक संजालको प्रयोगले धेरै युवाहरुलाई अल्छी समेत बनाएको भन्दै फुर्सुदको समयमा सामाजिक संजालमा रम्नुको सटट केही नयाँ अनुसन्धानमा युवाहरु लाग्नुपर्ने बताए ।
रोटरी बुटवल साउथका संस्थापक अध्यक्ष डा. रामचन्द्र आचार्यले समाज रुपान्तरणमा युवाहरुको महत्वपूर्ण भमिका रहेको भन्दै प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष मनोरथ अर्यालले एक वर्षको अवधिमा क्लबका सदस्यहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै सरसफाई, शैक्षिक सामाग्री वितरण, खेल प्रबद्र्धनात्मक कार्यक्रमलाई अघि बढाउने बताए । सो अवसरमा रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी वर्ष खेलाडीबाट क्रिकेट खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा रोट्रयाक्ट बुटवल साउथका अध्यक्ष भुपेन पाण्डे, रोटरी बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका पूर्वअध्यक्ष उमानाथ अधिकारीको स्वागत, पूर्व अध्यक्ष प्रकाश पराजुलीको धन्यवाद मन्तव्य रहेको कार्यक्रम को संचालन राजु भुर्तेल र शुभेच्छा पाण्डेले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij