२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

२४ विद्यार्थीले पाए ‘भास्करानन्द–माया शर्मा’ छात्रवृत्ति

शनिवार , श्रावण ७, २०७९

भैरहवा, ७ साउन । 
भास्करानन्द–माया शर्मा अक्षयकोष सिद्धार्थनगर–८, रुपन्देहीले सिद्धार्थनगरभित्रका २४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्ष ७ वटा सामूदायिक विद्यालयबाट २४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई संस्थाले छात्रवृत्ति प्रदान गरेको हो ।

शनिबार भैरहवास्थित रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । २०७२ सालमा स्थापना भएको अक्षयकोषले २०७३ सालदेखि छात्रवृत्ति वितरण सुरु गरेको संस्थापक अध्यक्ष भास्करानन्द शर्माले बताए । हालसम्म ८४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको र कोभिडका कारण २०७७ र २०७८ सालमा छात्रवृत्ति वितरण गर्न नसकिएको उनले जानकारी दिए । उनले भने, ‘अक्षयकोषमा ३३ लाख रुपैयाँ पुर्याइएको छ ।’

अक्षयकोषबाट कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई ५ हजार, ६ देखि ८ सम्म अध्ययनरतलाई ७ हजार र कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई १० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए । यस वर्ष सूर्यदेव माविका ३, भानु माविका ४, सुसंस्कृत माविका ४, नवदुर्गा माविका ३, महात्मा बुद्ध माविका ३, भैरहवा नमूना माविका ३ र रुपन्देही लीलाराम न्यौपाने माविका ४ जना विद्यार्थीले छात्रवृत्ति पाउने उनले बताए । आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको उनले बताए ।

भाष्करानन्द–माया शर्मा अक्षयकोषका संस्थापक अध्यक्ष भास्करानन्द शर्माको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति वितरण कार्यक्रममा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदी, सुर्यदेव माध्यमिक विद्यालयकी प्रधानाध्यापक दुर्गा पाण्डे, संस्थाका मानार्थ सदस्य राजु शर्मा ढकाल, दिनेश पौड्याल, रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रुप कुमार रायमाझी, पत्रकार माधव न्यौपाने लगायतले बोलेका थिए । संस्थाका सदस्य हरि बहादुर खड्काको स्वागत तथा सचिव देवीदत्त ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।