२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

३ बुँदे माग राख्दै जनमत पार्टीले लुम्बिनी साँस्कृतिक नगरपालिकालाई बुझायो ध्यानाकर्षणपत्र

शुक्रवार , श्रावण ६, २०७९

भैरहवा, ६ साउन ।
विभिन्न ३ बुँदे माग राख्दै जनमत पार्टीले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । पार्टीले नगरप्रमुख सजरुद्दीन मुसलमान र उपप्रमुख कल्पना हरिजनलाई बिहीबार ध्यानाकर्षणपत्र बुझाएको हो ।

नगरसभामा प्रस्ताव नलगी, नगर कार्यपालिका बैठकमा छलफल एवं निर्णय समेत नगरी नगरपालिकामा कार्यरत कर्मचारीलाई बिना कुनै स्पष्टीकरण एकलौटी ढंगले सेवाबाट बर्खास्त गरी तत्कालै बिना कुनै निर्णय वा विज्ञापन समेत नगरी ११ जना कार्यकर्ता भर्ती गर्ने काम भएको भन्दै सो निर्णय फिर्ता लिन माग गरिएको जनमत पार्टीका युवा नेता चन्द्रकेश गुप्ता (सि.के.) ले बताए ।
‘नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीलाई खाजा खर्च भत्ता दिने निर्णय कुन नियमअनुसार भएको हो र यसका लागि ५२ लाख बजेट कुन आधारमा छुट्याइएको भन्दै नेपाल सरकारको निजामति ऐन अनुसार समेत अन्य कुनै निकायका कर्मचारीलाई खाजा खर्च नदिने गरेको सन्दर्भमा नगरपालिकाका कर्मचारीलाई खाजा खर्च दिने गरी प्रशासनिक खर्च बढाउने नगरपालिकाको मनपरी निर्णय फिर्ता लिइयोस्, ’ध्यानाकर्षणपत्रमा भनिएको छ ।

त्यसै गरी ‘कर्मचारीलाई दिइने प्रोत्साहन भत्तावापत सम्पूर्ण स्थायी कर्मचारीलाई २५ प्रतिशत, सेवा करार कर्मचारीलाई १५ प्रतिशत र ज्यालादारी कर्मचारीलाई शुन्य प्रतिशत दिने निर्णय कुन आधारमा गरिएको हो ? प्रोत्साहन भत्ता उत्कृष्ट कर्मचारीलाई दिनुपर्ने हो, सबै कर्मचारीलाई दिनुपर्ने हो वा प्रतिशत छु्ट्याएर दिनुपर्ने हो ? यस्ता फजुल खर्च गर्ने निर्णय तत्काल फिर्ता लिइयोस्, ’ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

IMG-20220721-WA0009.jpg

ध्यानाकर्षण पत्रलाई वेवास्ता गरी गलत निर्णयहरु फिर्ता नलिए नगरपालिका कार्यालयमा जनमत पार्टी तालाबन्दी गर्न बाध्य हुने र त्यसबाट हुने हानी नोक्सानीको जिम्मेवार नगरपालिका हुने पार्टीका युवा नेता चन्द्रकेश गुप्ताले चेतावनी दिए ।