२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

तिनाउ नदीमा पक्की पुल बन्दै, मन्त्री खाँले गरे शिलान्यास

बिहिवार , श्रावण ५, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ५ साउन ।
    तिनाउ नदीमा पक्की पुलको शिलान्यास गरिएको छ । कोटहीमाई गाउँपालिका वडा नम्बर २ र ५ लाई जोडने उक्त पुलको लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले शिलन्यास गरेका हुन् ।

    शिलान्यासपश्चात आयोजित कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि मन्त्री खाँले आफूलाई विकासको नशा लागेको बताए । मर्चवारसहित ल प्रदेशभरीको विकास नभएको ठाउँको बारेमा सधै चिन्ता सताउने गरेको उनले तर्क गरे । रुपन्देही जिल्लालाई सुगम मानिए पनि मर्चवार क्षेत्र अहिले पनि दुर्गम क्षेत्र जस्तै रहेको बताए । उक्त पुल निर्माण गर्ने निर्वाचनमा वाचा गरेकोलाई पूरा गरेको उनले बताए । यस्तै उनी मन्त्री भएको ८ महिनादेखि मर्चवारको लागि प्राविधिक शिक्षालय, छपिया क्षेत्रमा विज्ञान संग्राहलय, मर्चवार लिफ्ट सिँचाई अयोजना व्यवस्थापनको लागि करिब २ करोडक, मर्चवार आदर्श बहुमुखी क्याम्पसको लागि करिब १ करोड बजेट, कुस्ती प्रतियोगिता स्थल लगायत विभिन्न विद्यालयमा भौतिक संरचना निर्माणका लागि बजेट बिनियोजन गरी कार्य अगाडि बढाएको बताए ।

    त्यस्तै तिनाउ नदीमा पक्की पुल निर्माण गरी मझगावाँदेखि भारतको सीमासंगै जोडिए जस्तै छपिया भुवरी क्षेत्रलाई लुम्बिनीसँग जोडन दानव नदीमा पनि पक्की पुलको लागि बजेट विनियोजन गरेको मन्त्री खाँले बताए । गाउँपालिकाले साना सडक निर्माण गर्ने तथा ठुलो योजना प्रदेश सरकारले गर्ने उनले बताए । 

    उनले भने, ‘जनताको मागअनुसार बजेट विनियोजन गरी मर्चवारलाई अब प्रदेशमा चिनाउने संरचना निर्माण हुनेछ । ’ मर्चवारको धरोहरको रुपमा रहेको मर्चवारीदेवी मन्दिर निर्माणको लागि ३ करोड ८५ लाखको टेण्डर गरी निर्माण कार्य अगाडी बढाइएको बताए । रमवापुरदेखि शिलान्यास भएको पक्की पुल दुईमोहानसम्म करिब १६ करोडको लागतमा मन्त्री खाँको पहलमा निर्माण कार्य अगाडी बढाइएको छ । पुल निर्माणस्थलमा सडकको लागि जग्गादान गर्ने जग्गादाताहरुको मन्त्री खाँले प्रशंसा गर्दै सम्मान समेत गरेका थिए ।

    १७ करोड ६१ लाख ५१ हजार ९ सय ८५ रुपैयाँ स्वीकृत बजेटबाट ७८ दशमलव ५५ मिटर लम्बाई बन्ने उक्त पुल १३ करोड ५१ लाख ५७ हजार ८ सय ४५ रुपैयाँमा निर्माण हुने सम्झौता भएको भौतिक पूर्वाधार विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख लालित न्यौपानेले बताए । १० दशमलव ४८ मिटर उचाईमा बन्ने उक्त पुलमा ३ पिल्लर रहने उनले बताए । २ वर्ष ६ महिनामा निर्माण कार्यसम्पन्न हुने गरी श्री अन्जना एसियाटिक रिजाल जेभी सियारी–६ रुपन्देहीसँग सम्झौता भएको न्यौपानेले बताए । असार १० गते सम्झौता भएको उक्त पुलको खर्च भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशले व्यहोर्ने उनले जानकारी दिएका छन् ।

    पुल निर्माणपछि करीब ५० किलोमिटर बाध्यात्मक यात्रा समस्या समाधान भइ अब २ किलोमिटर मात्र यात्रा गरी गन्तव्यमा पुग्ने सकिने स्थानीय मोलहु नाउले बताए । शिलान्यास गरिएको पुल निर्माणपछि सम्मरीमाई, मर्चवारी कोटहीमाई गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिका गरी भारतको सीमासम्मका जनतालाई यात्रामा सहज हुने भएको छ । आफूले टापुमा बसेको महसुस हँुदै आएको तर यो पुल निर्माणपछि आफ्नो देशमा बसिएको महसुस हुने भुवरीका चेतन मल्लाहले बताए ।

    कार्यक्रममा सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति मुकेश यादव, कोटहीमाई–७ का वडाध्यक्ष पवन कुमार यादव, समाजसेवी गुरुवचन यादव लगायतले बोलेका थिए ।

    कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका इञ्जिनियर हरि पौडेल, मर्चवारी –५ का वडाध्यक्ष कृष्ण कुमार सिंह, नेपाली कांग्रेस सम्मरीमाईका सभापति रमेश यादव, मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष नजिर अहमद खान, समाजसेवी बिरेन्द्र जयसवाल, मर्चवारी–३ का वडाध्यक्ष जनार्दन यादव, मायादेवी–५ का वडाध्यक्ष तेज नारायण पाल, विपद् व्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष जनन्नाथ कुर्मी, समाजसेवी राजेन्द्र यादव, जमाल अहमद खान सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षता,  कोटहीमाई–५ का वडाअध्यक्ष संजय कुमार सैनीको स्वागत तथा रामनयन बरुणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।