बिहिवार , श्रावण ५, २०७९
भैरहवा, ५ साउन ।
नमुना एकीकृत विकास परिषद् (नमुना) रुपन्देहीको १६ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले सीता भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा निजामुद्दीन पठान, सचिवमा शैलेन्द्र तुलाधर र कोषाध्यक्षमा प्रेमकला गैरे निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा ओमप्रकाश गुप्ता, रुविता पुलामी, अशेष शाक्य, पवित्रा पन्थी र विष्णुमाया कुंवर निर्वाचित भएका छन् । त्यस्तै नमुनाको कार्यकारी निर्देशकको जिम्मेवारी संस्थाकी निवर्तमान अध्यक्ष ज्ञानु पौड्यालले पाएकी छन् ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारी, नमुनाका कानूनी सल्लाहकार तथा वरिष्ठ अधिवक्ता शिव गौडेल, लुम्बिनी प्रादेशिक अस्पताल सामाजिक सेवा इकाईका स्रोत व्यक्ति नेत्र प्रसाद आचार्य लगायतले बोल्दै विगत लामो समयदेखि नमुनाले महिला, बालबालिका, युवाहरुलाई लक्षित गरी एच.आई.भी. हेरचाह, रोकथाम, न्यूनीकरण, लैंगिक हिंसा न्यूनीकरण, विपद् पूर्वतयारी तथा रोकथाममा कार्य गर्दै समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा नमुनाकी अध्यक्ष ज्ञानु पौड्यालले वार्षिक प्रतिवेदन र लेखा तथा प्रशासकीय अधिकृत मोहन कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका टीम लिडर दिनेश पौड्यालले पञ्चवर्षिय रणनैतिक योजना (२०२२–२०२६) तथा संस्थाको खरिद ऐनलाई अलग नीतिको व्यवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा संस्थालाई सहयोग गरेको भन्दै रुविता पुलामी, अमृता अधिकारी सुमित्रा गुप्ता, सरस्वती रेग्मी र पत्रकार रबिन्द्र प्रताप गुप्तालाई सम्मान गरिएको थियो । त्यसै गरी संस्थाका पूर्व कर्मचारी अशेष शाक्य र विवेक ज्ञवालीलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै स्टाफ अद इयरबाट दिनेश गोदार, उत्कृष्ट फिल्ड कर्मचारीबाट ईश्वरी पाण्डे, भुनेश्वर सिंह, रेनुका सिंह चौधरी र उमा देवी भण्डारीलाई सम्मान गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij