आइतवार , श्रावण १, २०७९
भैरहवा, १ साउन ।
राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसीसी प्रशिक्षण रुपन्देहीमा सुरु भएको छ । अनुशासन नै राष्ट्र सेवाको मुल जग हो भन्ने आदर्श वाक्य रहेको दल २०२४ फागुन २४ मा स्थापना भएको हो । रुपन्देहीका तीन विद्यालयका ५४ छात्र र ५४ छात्रा गरी १०८ छात्रछात्रा यो तालिममा सहभागी भएको गरुण दल गण रुपन्देही बुटवलका गणपति रामकृष्ण श्रेष्ठले बताए । रुपन्देहीको सैनामैनाको श्री सैनामैना पर्रोहा परमेश्वर मावि, तिलोत्तमाको मणिग्रामस्थित श्री शान्ति नमुना मावि तथा भैरहवाको वृहस्पति माविका छात्रछात्रा तालिममा सहभागि रहेका छन् ।
तालिममा रहेका तीनवटै विद्यालयका छात्रछात्रालाई उनीहरु अध्ययन रहेकै विद्यालयमा संस्थायत तालिम दिइनेछ । तालिम अवधि १ सय दिनको हुने र त्यसमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामूहिक क्याम्प सञ्चालन हुने श्रेष्ठले उल्लेख गरे ।
तालिममा छात्रछात्राहरुलाई एफसी, बिसी, म्याप रिडिंग, विपद् व्यवस्थापन, ड्रिल, तेक्वान्दो खेल, साथै एरोबिक्सहरुको सैद्दान्तिक र व्यवहारिक ज्ञान दिइने गणपति श्रेष्ठले बताए । तालिम पुरा भए पछि आम नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले नै राष्ट्रिय सेवा दल एनसीसी गठन भएको र अनुशासित नागरिक बनाउन मद्दत पुग्ने, देशमा प्राकृतिक विपद् तथा संकट र उद्दारमा सहयोग हुने श्रेष्ठको भनाइ छ ।
वृहस्पति विद्यालयमा भएको तालिमको उद्घाटन समारोहमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अहिले अनुशासनको कमी समाजमा देखिएको भन्दै समाजलाई अनुशासित बनाउन तालिमले मद्दत पुर्याउने र कुनै प्राकृतिक विपत्ति पर्दा उद्दारका लागि सहयोग हुने खालको यो तालिममा लगाव राखी सिक्नुपर्ने बताए ।
तालिममा वृहस्पति माविका वद्री विशाल गुप्ता लगायतले मन्तव्य राख्दै यो तालिम अति नै महत्वपूर्ण रहेको र अनुशासित तथा सहयोगी भावनाको बनाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा रुपन्देही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी, रुपन्देही सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक गगन श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग रुपन्देहीका प्रमुख रमेशचन्द्र यादव, डिफेन्स रिपोर्टर मनोरञ्जन शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन उपसेनानी मेरीसा बिष्टले गरेकी थिइन् । राष्ट्रिय सेवा दलले २०७० सालसम्म ५÷५ सय छात्रछात्रा गरी १ हजार जना तथा ०७१।७२ मा ६ सय जना, २०७२।०७३ मा २ हजार जना, ७३।७४ मा ४ हजार जना, ०७६।७७ मा ७७ सय जना र ०७८।७९मा ७७ सय गरी जम्मा ७९ हजार ३२ जना देशैभरका छात्रछात्रालाई तालिम दिई दिक्षान्त गरिसकेको गरुण दल गणका जेष्ठ सेनानी सुरज रिमालले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij