
आइतवार , श्रावण १, २०७९
भैरहवा, १ साउन ।
भीम अस्पतालमा सेवा लिने बिरामीहरुका लागि अब रगतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क हुने भएको छ । २०७९ साउन १ गते (आज) देखि लागू हुने गरी अस्पतालमा सेवा लिने बिरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा निःशुल्क गरेको हो ।
भैरहवास्थित भीम अस्पताल र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबीच रगतका लागि लाग्ने सबै सेवा शुल्क निःशुल्क गर्ने सहमति भएको हो । अस्पतालकातर्फबाट मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ता र रेडक्रस सोसाइटीका जिल्ला सभापति प्रेमलाल उदासले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष कुलप्रसाद न्यौपाने, प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीको समेत उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा माग गरिएको रगतको परिमाण रेडक्रस (रक्त संचार केन्द्र) ले उपलब्ध गराउनुुपर्ने सभापति उदासले बताए । त्यस्तै सम्झौताअनुसार रगत उपलब्ध गराए वापत कुनै पनि शुल्क बिरामी वा बिरामीको आफन्तबाट लिन नपाइने, अस्पतालले आपूर्ति गरेको रगतको परिमाणसहितको सम्पूर्ण सेवा शुल्कको रकम दोस्रो पक्षले महिनाको अन्त्यमा बील भर्पाईसहित माग गरे पश्चात अस्पतालले प्रदेश निःशुल्क रक्त संचार व्यवस्थापन कार्यविधि २०७८ बमोजिम भुक्तानी तथा निकासा गर्नुपर्नेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij