
शनिवार , आषाढ ३२, २०७९
बुटवल, ३२ असार ।
रोटरी क्लब अफ बुटवलको वर्ष २०२२–२३ को तेस्रो एवं क्लबको १४२३ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा उद्योगी महेश थैवको क्लासिफकेशन रहेको थियो । बैठकमा अध्यक्ष पियाले रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रबहादुर राजभण्डारी, पूर्व डिआरएफसी एमके झा, डिष्ट्रिक सेन्टरी अमित गिरीसँग क्लबका गतिविधिसम्बन्धी काठमाडौंमा छलफल भएको जानकारी गराएका थिए ।
बैठकमा बोल्दै उद्योगी थैवले बारम्बार हुने नीतिगत परिवर्तनले मुलुकको उद्योग क्षेत्र सुधार हुन नसकेको बताए । उद्योगी व्यवसायीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याए पनि राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन नसकेको उनको भनाइ थियो ।
“उद्योगमैत्री ऐन नियमको अभावका कारण उद्योग क्षेत्रले चाहे अनुसार फड्को मार्न सकिरहेको छैन, आर्थिक समृद्धिमा उद्योग क्षेत्रको महत्वपूर्ण योगदान हुँदाहुँदै पनि राज्यको नीति उद्योगमैत्री छैन”–उनले भने । उनले भारतबाट आयात हुने कच्चा पदार्थको भन्सार दर महँगो र तयारी वस्तुको भन्सार दर सस्तो हुँदा स्वदेशी उत्पादनले भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्न नसकेको पनि बताए ।
आवास ग्रुपका सञ्चालक समेत रहेका थैवले आवास ग्रुप अन्तर्गत हाल १६ वटा उद्योग सञ्चालनमा रहेको, दुईवटा नयाँ उद्योग सञ्चालनको तयारीमा रहेको र करिव तीन हजार जनालाई रोजगारी प्रदान गरेको जानकारी दिए ।
त्यस अवसरमा क्लबका पूर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे लगायतले विभिन्न जिज्ञासा एवं सुझाव दिएका थिए । बैठकमा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्र ध्वजूले रोटरी डिष्ट्रिकका अहिलेसम्मका गतिविधिबारे प्रकाश पार्दै आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।
जीवकान्त काफ्लेले बैठकको सञ्चालन गर्दै ३० औं पदस्थापन कार्यक्रमको बारेमा पनि जानकारी गराएका थिए भने रोटरीयनहरु खिमनारायण पराजुली, थानेश्वर पौडेल, कृष्ण पराजुली लगायतले पनि बोलेका थिए । अध्यक्ष बोनिन पियाले बैठकमा देखाएको सक्रिय सहभागीताप्रति आफू उत्साहित भएको भन्दै आगामी बैठकहरुमा पनि यस्तै क्रियाशिलताको अपेक्षा आफूले गरेको बताएका थिए । साथै उनले पर्रोहा परमेश्पर बोलबम धाममा रोट्रयाक्ट, इन्ट्रयाक्ट र रोटरी क्लब मिलेर एकदिन प्रसाद वितरण कार्यक्रम गर्ने र उपयुक्त समय मिलाएर १० पिस ह्वील चेयर वितरणको कार्यक्रम पनि आयोजना गरिने जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij