२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कृषि र पशुपालनतर्फका पकेट कार्यक्रम निष्प्रभावी

शुक्रवार , आषाढ ३१, २०७९

भैरहवा, ३१ असार ।
चालु आर्थिक वर्षमा रुपन्देही र नवलपरासी पश्चिमका स्थानीय तहले ३२ वटा पकेटका कार्यक्रम सञ्चालन गर्न सकेनन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले वि.सं. २०७३ सालदेखि पकेट, ब्लक, जोन र सुपर जोन कार्यक्रम सञ्चालन गरेको थिए । तीनवर्ष यता पकेटका कार्यक्रम स्थानीय तहले सञ्चालन गर्दै आएका छन् । तरकारी, च्याउ, केरा, मौरी, खाद्यान्य, बाख्रा, भैँसी र माछा पालनतर्फ रुपन्देही र नवलपरासी पश्चिममा ९३ वटा पकेट सञ्चालन भएका थिए । जसमा रुपन्देहीमा १७ र नवलपरासी पश्चिममा १५ वटा पकेटका कार्यक्रम सञ्चालन हुन सकेनन् । अधिकांश स्थानीय तहले पशुपालनतर्फका पकेट सञ्चालन गर्न सकेनन् । कृषितर्फका पकेटको कार्य सम्पादन भने केही सुधारउन्मुख छ । 

रुपन्देहीको सैनामैना नगरपालिकाले मकै, मौरी र बाख्रापालनका पकेट सञ्चालन गरेर सय प्रतिशत काम सम्पन्न गरेको छ भने नवलपरासीको सुस्ता गाउँपालिकाले पाँचवटा पकेटमा कुनै पनि सञ्चालन गर्न सकेन । एउटा पकेट दुई वर्षपछि संख्या र क्षेत्रफल बढाउँदै ब्लक, जोन र सुपर जोनमा स्तरबृद्धि हुनुपर्छ । तर, अधिकांश पकेटका कार्यक्रम ठाउँठाउँमा छरेर सञ्चालन गर्दा ब्लकमा रुपान्तरित हुन सकेका छैनन् । एउटा गाउँ अथवा जोडिएका कुनै गाउँ समावेश गरेर पकेट सञ्चालन गर्नुपर्छ । अधिकांश ठाउँमा कार्यविधि मिचेर कार्य सञ्चालन भइरहेको छ । प्राविधिकहरु कार्यक्रमबारे अनभिज्ञ हुनु र परियोजनाले पनि पकेटका कार्यक्रमलाई अपनत्व नदिँदा कमजोरी दोहोरिरहेको छ । 

परियोजनाको उद्देश्य प्राप्तीका लागि पनि तालिमको खाँचो भएको कृषि तथा पशु प्राविधिकहरुले बताएका छन् । बिहिबार रुपन्देहीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८÷७९ मा स्थानीय तहबाट सञ्चालित पकेट विकास कार्यक्रमको प्रगति समीक्षा सार्वजनिक गरेको हो । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले गरेका थिए ।

कार्यक्रममा कृषि तथा पशु प्राविधिकहरुको उपस्थिति रहेको थियो । जनप्रतिनिधिहरुले पकेटको क्षेत्र छनोट र कार्यक्रम सञ्चालन गर्दा आफ्ना कार्यकर्ता र धेरै मतदाता भएकालाई मात्र प्राथमिकता दिने भएकाले पनि लक्ष्य प्राप्तीअनुसार कार्यसम्पादन हुन सकेको छैन ।