२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

‘सीमावर्ती क्षेत्रमा लाग्ने हाटबजारका कारण नेपालको व्यवसाय प्रभावित’

बिहिवार , आषाढ २३, २०७९

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, २३ असार ।
    उद्योगी व्यवसायीहरुले सीमावर्ती क्षेत्रमा लाग्ने हाटबजारका कारण नेपाली बजार प्रभावित भएको गुनासो गरेका छन् । उनीहरुले सीमा क्षेत्रमै लाग्ने बजारमा अधिकांश नेपाली उपभोक्ता जाने भएका कारण स्वदेशी बजार धरासायी बन्दै गएको गुनासो गरेका छन् । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्श), रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको स्वागत तथा परिचयात्मक कार्यक्रममा सीमावर्ती क्षेत्रमा लाग्ने हाटबजारमा सस्तो मूल्य भन्दै कम गुणस्तरको सामान पाइने भएको व्यवसायीहरुको भनाइ छ ।

    कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले सीमा नाका क्षेत्रमै लाग्ने फरेनी बजारका कारण नेपालको बजार प्रभावित भएको बताए । उनले भारतसँग समन्वय गरेर उक्त बजार बन्द गराउनु पहल गर्नुपर्नेमा जोड दिए । भण्डारीले भने, ‘सीमा नाका (दशगजामै) लाग्ने हाटबजार हटाउन पहल गरिदिन म आग्रह गर्न चाहन्छु । ’ उनले कुनै शुल्क नतिरी ल्याइने झोले पोके सामान भित्राउने कार्यमा समेत रोक लगाउनुपर्ने माग गरे । झोले, पोके सामानका कारण नेपालमा भाडा तथा राजस्व तिरेर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु मारमा परेको उनको भनाइ थियो । खुल्ला सीमा नाकाका कारण अवैध लागूऔषध ओसारपसार, मानव बेचबिखन जस्ता कार्यलाई नियन्त्रण गर्न विशेष निगरानीको आवश्यकता रहेको भण्डारीले बताए । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा स्थलमार्ग हुँदै धेरै पर्यटक भित्रिने बेलहिया नाका समेत रुपन्देहीमा रहेकाले राष्ट्रिय रुपमा पनि यो महत्वपूर्ण जिल्ला भएको उनले बताए । समाज सुरक्षित हुने काम गर्दा उद्योग व्यापार संगठन सहयोग गर्न तयार रहेको बताए ।

    संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले खुल्ला सीमाका कारण अवैध रुपमा सामान ओसारपसार, लागूऔषध दुव्र्यसनी, मानव बेचबिखन, भारतबाट नेपाल प्रवेश गरी ठूला घटना घटाएर भारत फर्किहाल्ने तथा बेलाबेलामा हुने चोरी डकैतीका कारण सुरक्षा चुनौती थपिएको बताए । उनले यस्ता घटना हुन नदिन सावधानीपूर्वक अगाडि बढे शान्ति सुरक्षाको स्थिति राम्रो हुने बताए । उनले भने, ‘सम्पूर्ण उद्योगी व्यवसायी ढुक्कसँग उद्योग व्यवसाय सञ्चालन गर्न पाउनेछौं भन्ने आशा लिएका छौं, सदैव हातेमालो र सहकार्य गर्न तयार छौं । ’ उद्योग व्यापार संगठनले विभिन्न सरकारी निकायसँग हातेमालो गर्दै अघि बढिरहेको उनको भनाइ थियो । विकासको दृष्टिकोणले पनि रुपन्देही महत्वपूर्ण जिल्ला भएको उनले बताए ।

    संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले संगठनले सरकारी निकाय तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आएको बताए । उनले संगठनको उचाई अझ माथि पुगेको बताए ।

    संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले समस्या चुनौती समयक्रमसँगै आइरहने भएकाले ती समस्याको समाधानका लागि संगठन हातेमालो गर्न तयार रहेको बताए ।

    संगठनका सल्लाहकार विश्वराज बराल (अनुप)ले जिल्ला प्रशासन कार्यालयबाट प्रभाव हुने सेवा सरल ढंगले पाएको अनुभुति सेवाग्राहीले गर्ने विश्वास व्यक्त गरे । उलले यस क्षेत्रमा रात्रिकालिन बजारको माग बढिरहेको बताए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले रुपन्देही जिल्लाले फड्को मारेको बताए । उनले यो जिल्ला विकास कार्य, जीवनस्तर, पर्यटकीय हिसाबले पनि अगाडि रहेको बताए । प्रजिअ पाण्डेले उत्कष्ट जिल्लाको रुपमा रहेको रुपन्देहीमा व्यापार व्यवसाय फस्टाउँदै जाने विश्वास व्यक्त गरे । उनले विकासका लागि उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘राष्ट्रको अर्थतन्त्रमा उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहेको छ, रोजगारी सिर्जना, राजस्व, कच्चा पदार्थको सदुपयोग गरेर यहाँहरुले मुलुकको अर्थतन्त्रमा योगदान गर्नुभएको छ, निजी क्षेत्र स्थानीय प्रशासनको लागि सहयोगी संस्था हो ।’गुणस्तरहीन सामान, नापतौलमा ठगी, राजस्व छली, सामानको कृत्रिम अभाव जस्ता गतिविधिमा कोही पनि संलग्न हुन नहुने उनको भनाइ थियो ।

    प्रजिअ पाण्डेले भने, ‘कुनै पनि व्यापारिक प्रतिष्ठानलाई नमीठो व्यवहार गर्ने वातावरण सिर्जना नगर्नुहोस्, उपभोक्ताबाट गुनासो सुन्नुपर्ने अवस्था नआओस्, बजारलाई सही रुपमा सञ्चालन गराउनु हाम्रो दायित्व हो, सबै क्षेत्रबाट हाम्रो निगरानी हुन्छ, । ’ चोरी निकासीलाई निरुत्साहित गर्न व्यवसायीहरुको सहयोग आवश्यक रहेको उनले बताए । दुईपक्षीय काउन्टरपार्ट मिटिङमा पनि डीएमहरुसँग कुरा गरेर नीतिगत रुपमा तथा केन्द्रीय तहमा कुरा उठाएर सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई नियन्त्रण गर्न पूर्ण रुपमा लाग्नेछु, ’उनले भने । सबैको प्रयासबाट सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार, मानव बेचबिखन, राजस्व चुहावटसम्बन्धि कुराहरु नियन्त्रण गर्न सकिने उनले बताए । समाजमा शान्ति, सुरक्षा कायम राख्ने, विभिन्न खालका सामाजिक विकृति, भष्टाचारजन्य क्रियाकलापलाई नियन्त्रण गर्ने कुरा प्रशासकको दायित्व अन्तर्गत पर्ने उनले बताए । उनले निजी क्षेत्रबाट रचनात्मक सहयोग, सहकार्य र सहयोगको अपेक्षा आफूले गरेको बताए । उनले सामाजिक उत्तरदायित्वका कार्यमा सँगसँगै जान सकिने उनको भनाइ थियो ।

    IMG20220707085844.jpg

    उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको प्रमुख आतिथ्यता, संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीको स्वागत, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । हालै मात्र जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सरुवा भएर जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आउनुभएका प्रजिअ पाण्डेलाई स्वागत गरिएको संगठनका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए ।