बुधवार , आषाढ २२, २०७९
काठमाडौं, २२ असार। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट कर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेको आरोपमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माको कुनै पनि प्रस्टीकरण नसुन्ने भएको छ ।
गत १४ जेठको मध्य राति अर्थमन्त्री शर्माले बजेट निमार्णको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेको विषयमा धारणा राख्न तयारी गरिरहेको बेला एमालेले पनि कुनै पनि प्रस्टीकरण नसुन्ने भएको हो ।
‘बजेट जस्तो संवेदनशील विषयमा जसरी अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई प्रवेश गराउन भयो, त्यसले राष्ट्रको शिर निहुरिएको छ,’ प्रमुख सचेतक विशाल भट्टराईले न्युज कारखानासँग भने, ‘राज्यको लागि अपराध गरेको दण्डनीय व्यक्तिको धारणा हामीले सुन्नु छैन, हामी सुन्दैनौं ।’
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीले रोष्ट्रममा उभिएर धारणा राख्न खोजेको अहिलेसम्म जानकारी नदिएको जनाउँदै जबरजस्ती गर्न खोजिए प्रतिकार गर्ने पनि उनको चेतावनी छ । ‘अर्थमन्त्रीले संसदमा बोल्ने बिषयमा सभामुख कसरी प्रस्तुत हुनुहुन्छ, त्यसअनुसार हाम्रो रणनीति हुन्छ, विरोध तथा बहिस्कार दुवै हुनसक्छ ।’
उनका अनुसार अर्थमन्त्री शर्मालाई पदबाट बर्खास्त गर्नुपर्ने तथा संसदीय छानबिनजस्ता भरपर्दो आश्वासन नदिएसम्म एमालेको विरोध जारी रहनेछ ।न्युज कारखाना
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij