२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

भैरहवाको ट्राफिक व्यवस्थापनका लागि संगठनले दियो ८ बुँदे सुझाव

मंगलवार , आषाढ २१, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २१ असार ।
    उद्योग व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्श), रुपन्देहीले भैरहवा क्षेत्रमा ट्राफिक जाम समस्या समाधानका लागि ८ बुँदे सुझाव दिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीलाई ट्राफिक व्यवस्थापनका लागि ८ बुँदे सुझावसहित ध्यानाकर्षण गराइएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । संगठनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख केशव के.सी.लाई उक्त ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।

    भैरहवा क्षेत्रमा पार्किङको समस्या र प्राय सबै ठाउँमा अस्तव्यस्त रहेकाले धेरै ठाउँमा जाम भइरहेको तथा अकालमा धेरै जनाको ज्यान समेत गएको ज्ञवालीले जानकारी दिए । उनले भने, ‘सबैले जेब्राक्रस र आकाशे पुलको प्रयोग गर्दैनन्, ट्राफिक लाइटको बारेमा पनि त्यति जानकार छैनन्, यति हुँदाहुँदै पनि ट्राफिक व्यवस्थापनमा लाग्ने सम्पूर्ण निकायलाई धन्यवाद दिन चाहन्छौं ।’

    संगठनले हाल केही समय यता बजारका केही स्थानमा नो पार्किङ बोर्ड राखिएकाले व्यवसायीहरु आतंकित भएकाले उनीहरुलाई वैकल्पिक व्यवस्था नगरिकन नो पार्किङ बोर्ड लगाइ जरिवाना उठाउनु के कति जायज हो, पसल अगाडि आउने ग्राहकका लागि स्वयं आफ्नो सवारीसाधन राख्ने वैकल्पिक व्यवस्था नदिएकाले उक्त बोर्ड हटाउन ध्यानाकर्षण गराएको छ । सरसल्लाह गरेर वैकल्पिक व्यवस्था तयार भएपछि मात्र लगाउन परे त्यसका लागि सहयोग गर्न तयार रहेको अध्यक्ष ज्ञवालीले बताए ।

    नगरमा जडित ट्राफिक लाईट पनि व्यवस्थित तरिकाले सञ्चालन नभएको र एकदिनमै तीन चार पटक काम नगरेको पाइएकाले त्यसलाई व्यवस्थित तरिकाले सञ्चालन गराउनुपर्ने, यस क्षेत्रको ट्राफिक जाम कम गरी दुर्घटना न्यूनीकरण गर्नका लागि देवकोटाचोकदेखि बुद्धचोकसम्म सडकको बीच भागमा कही पनि राजमार्ग क्रसिङ नभएकाले कम्तीमा भाटभटेनी अगाडिको राजमार्गबीचको भागमा बाटो खोलि सहज गराइदिन संगठनले आग्रह गरेको छ ।

    त्यस्तै लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल चोकमा पनि धेरै दुर्घटना हुने भएकाले एउटा ट्राफिक बीट राखी कम्तीमा दुईजना ट्राफिक प्रहरी खटाइ आवातजावतलाई सहज बनाउँदै सडक दुर्घटना न्यूनीकरण गराउनुपर्ने, हाल देखिएका ट्राफिक लाइट सम्बन्धी ज्ञान नभएर, आकाशे पुल प्रयोग नगरेर, जेब्राक्रस प्रयोग नगरेर दुर्घटना हुने भएकाले सबै कुरालाई समेटेर ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत माईकिङ र पर्चा पम्पलेट वितरण कार्य गर्नुपर्ने संगठनको माग छ ।

    विगत धेरै वर्षदेखि भैरहवा बजार (नारायण पथ, मैत्रीपथ, बैंकरोड, गल्लामण्डी लगायत) क्षेत्रमा एक साइड पार्किङ भएकाले समय अनुकुल साईड परिवर्तन गर्न आवश्यक रहेको संगठनको माग छ ।

    यस क्षेत्रमा उद्योग व्यापार संगठन, रुपन्देही निजी क्षेत्रको साथै सामाजिक क्षेत्रमा पनि कार्य गर्दै आइरहेको संस्था भएकाले सबै क्षेत्रसँग सहकार्य गरेर कार्य गर्न तयार भएको संगठनका महासचिव सचिन रोक्काले बताए ।

    ध्यानाकर्षण पत्र बुझाउन संगठनका अध्यक्ष अनिल कुमार ज्ञवाली, निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारी, पूर्व अध्यक्ष खिम बहादुर खत्री, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, वाणिज्य उपाध्यक्ष कृष्ण बहादुर गुरुङ, महासचिव सचिन रोक्का, सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारी कार्यालयहरुमा पुगेका थिए ।