मंगलवार , आषाढ २१, २०७९
भैरहवा, २१ असार ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भैरहवामा असार १ गतेदेखि सञ्चालित लक्षित वर्गका लागि सुनचाँदीका गहना बनाउने सीपमूलक १५ दिने तालिम मंगलबार समापन भएको छ । तालिममा २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको कार्यक्रम रहेको कार्यक्रम संयोजक सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगरका कार्यसमिति सदस्य किरण लामगादेले बताए ।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले दक्षता हासिल गर्न मिहिनेतको आवश्यकता रहेको बताइन् । उनले सुनचाँदीका गहना बनाउने तालिम राम्रो कार्यक्रम भएकाले यो तालिम सञ्चालन गर्न नगरपालिकाले ध्यान दिने बताइन् । उनले तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई व्यवसायीहरुले आ–आफ्नो पसलमा काम गर्ने अवसर दिनुपर्नेमा जोड दिइन् ।
विशिष्ट अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका विज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेञ्चुरीले लक्षित समूहलाई आयआर्जनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले पेशा व्यवसाय कुनै जाति विशेष नहुने भएकाले इच्छुक जुन व्यक्ति पनि सहभागी हुन सक्ने बताए । उनले यसअघिको कार्यकालमा आफू सिद्धार्थनगर नगरपालिकामा कार्यपालिका सदस्य हुँदादेखि नै तालिमको आयोजना गर्नुपर्छ भन्ने कुरा गर्दा तत्कालिन नगरप्रमुख हरिप्रसाद अधिकारी सकारात्मक हुनुभएको बताए । उनले आफूबाट हुने सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष विक्रम बहादुर सुनारले तालिम १५ दिन प्रयाप्त नभएकाले यसलाई बढाएर कम्तीमा तीन महिना सञ्चालन गर्नुपर्ने बताए ।
रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन विश्वकर्माले विभिन्न आरोह अवरोह पार गर्दै सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ यहाँसम्म आएको बताए । उनले तीन महिनासम्म तालिम सञ्चालन गर्नका लागि व्यवसायीहरु सहयोग गर्न तयार रहेको बताए ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष सतिष कुमार कौशल (दीपक)ले संघले व्यवसायिक हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । उनले सिद्धार्थनगर नगरपालिकाले नगरको सौन्दर्यकरणका लागि ध्यान दिनुपर्ने बताउँदै त्यसका लागि संघ हातेमालो गर्न तयार रहेको बताए । संघका सल्लाहकार डम्बर लाल रामदामले तालिम सञ्चालन हुनु खुसीको कुरा भएको बताए ।
तालिमका प्रमुख प्रशिक्षक धु्रव लामगादेले तालिमका लागि प्रेम कुमारी सेञ्चुरीले पहल गर्नुभएकाले उहाँको ठूलो योगदान रहेका बताए । उनले तालिमको अवधि र बजेट बढाउनुपर्नेमा जोड दिए ।
तालिमका प्रशिक्षार्थी अनिकेत बासफोरले तालिम उपलब्धीमूलक भएको भन्दै आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्नुपर्ने बताए ।
सिद्धार्थ सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष सतिष कुमार कौशल (दीपक)को अध्यक्षता, द्वितीय उपाध्यक्ष राजन रसाइलीको स्वागत तथा सह–सचिव सुनिल सेञ्चुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी र रुपन्देही जिल्ला खेलकुद विकास समितिको उपाध्यक्षमा मनोनित धुव्र लामगादेलाई सम्मान गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij