
एक महिनाभित्रै परीक्षाफल प्रकाशित गर्ने तयारी
मंगलवार , मंसिर ९, २०७७
काठमाडौं, ९ मंसिर ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि भन्दै गरिएको लकडाउनका कारण रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । गत शैक्षिक वर्षको पढाई सकिएसँगै २०७७ वैशाखमा हुनुपर्ने सो परीक्षा चैत्र ११ गतेदेखि घोषणा गरिएको लकडाउनका कारण प्रभावित भएकोले अहिले आएर आवश्यक जनस्वास्थ्य सुरक्षा र सतर्कता अपनाई संचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार विद्यार्थीहरु बसेकै ठाउँ नजिकका ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनका लागि हिमाली जिल्लाहरुमा प्रश्नपत्र पठाइसकेको र अन्य जिल्लामा परीक्षा सञ्चालन हुनुअघि इमेलबाट पठाउने जनाएको छ । कोभिड १९ को संक्रमणका कारण स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न लगाएर परीक्षा सञ्चालन गरिने छ । संक्रमित तथा कोभिडसँग लक्षण मिल्दोजुल्दो देखिएका बिरामीका लागि पछि बेग्लै परीक्षा सञ्चालन गर्ने पनि बोर्डको योजना छ । कोभिडका कारण बोर्डले ४० अंकको परीक्षा लिन लागेको छ ।
साथै उत्तरपुस्तिका समेत विद्यालयकै सम्बन्धित शिक्षकहरुबाट परीक्षण गराइ मंसिर २२ गतेभित्र प्राप्तांकको फाइल बोर्डको कार्यालयमा पठाउनुपर्ने निर्देशन बोर्डले दिएको छ । परीक्षा सम्पन्न भएको १ महिना भित्रै परीक्षाफल प्रकाशित गर्ने पनि बोर्डको तयारी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij