२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

कोरोनाविरुद्ध बनेका खोप गरिब र जोखिममा रहेकाहरुका लागि समान पहुँच हुनुपर्ने डब्लुएचओको दावी

मंगलवार , मंसिर ९, २०७७

काठमाडौ, ९ मंसिर । 
विश्व स्वास्थ्य संगठनले विश्वका गरिब र जोखिममा रहेकाहरुलाई कोरोना भाइरस विरुद्ध निर्माणाधीन खोपहरुमा समान पहुँच हुनुपर्ने भन्दै सचेत गराएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानोमले सफल परीक्षण भएका खोपहरु सबैका लागि समान रुपमा वितरण हुनुपर्ने भन्दै खोप उत्पादक कम्पनी र सरकारहरुलाई सचेत गराएका छन् । 

कोरोना भाइरसको संक्रमणको जोखिममा रहेका सबैका लागि समान रुपमा खोपको वितरण गर्नका लागि ४ अर्व ३० करोड डलरको वितरण प्रणाली सम्बन्धी कोषको आवश्यकता रहेको पनि उनले बताए । कोरोनाविरुद्ध बनेका खोप धनी र पैसाको पहुँच भएकाहरुका लागि मात्र प्रयोग गरिने र गरिबहरुलाई बेवास्ता गर्ने खालको प्रवृतिको विकास हुन नहुनेमा डब्लुएचओ प्रमुख टेड्रोसले जोड दिए ।

विश्वमा हालसम्म बनेका कोरोनाविरुद्धका ४ वटा खोप परीक्षणको अन्तिम चरणमा छन् । ती मध्ये बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र अमेरिकास्थित अस्ट्रा जिनिकाले निर्माण गरेको खोप सबैभन्दा सस्तो रहेको बताइएको छ । अक्स्फोर्ड विश्वविद्यालयले निर्माण गरेको खोपले ९० प्रतिशत सुरक्षा प्रदान गर्न सफल रहेको परिक्षणका क्रममा गरिएको एक अध्ययनले देखाएको छ ।

पछिल्लो पटक हालै सार्वजनिक गरिएका फाइजर बायो एन टेक र मोर्डना कम्पनीले विकास गरेका एन्टि कोभिड खोप भन्दा अक्स्फोर्ड विश्वविद्यालयले विकास गरेको खोप भण्डारण र ओसारपसारमा सहज हुने दावी गरिएको छ ।