२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

भैरहवामा स्लो बाइक प्रतियोगिता, मनिष यादव भए प्रथम

शनिवार , आषाढ १८, २०७९

  • 8.6K
    Shares
  • 8.6K
    Shares
  • भैरहवा, १८ असार ।
    बागेश्वरी असल शासन (बास) रुपन्देहीको आयोजनामा भैरहवामा शनिबार स्लो बाइक प्रतियोगिता–२०७९ सम्पन्न भएको छ । सडक सुरक्षा र ट्राफिक सचेतनाका लागि प्रतियोगिताको आयोजना गरिएको बासकी केन्द्रीय सदस्य सिमरत कौरले बताइन् ।
    सिद्धार्थनगर नगरपालिकाका सहयोगमा भएको प्रतियोगितामा मनिष यादव प्रथम, तरुण गुप्ता द्वितीय, अभिषेक ठाकुर तृतीय र दीप श्रीवास्तव सान्तवना भएको बास रुपन्देहीका उपाध्यक्ष श्रवण कान्दुले बताए । भैरहवास्थित सिद्धार्थ बसपार्कमा भएको प्रतियोगितामा २६ जनाको सहभागिता रहेको कान्दुले जानकारी दिए ।

    कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले बासले नयाँनयाँ कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । उनले यस्ता खालका प्रतियोगिताले युवाहरुमा आत्मबल बढाउनुका साथै प्रतिभा प्रष्फुटन गर्न सहयोग पुर्याउने बताए । उनले भने, ‘प्रदेश र संघीय सरकारसँग समन्वय गरेर सहयोग गर्छौं ।’

    Slow bike Race.jpg

    त्यस्तै रुपन्देही नागरिक समाजका वरिष्ठ उपाध्यक्ष श्रीराम गुप्ताले बासले समयसमयमा रचनात्मक कार्य गर्दै आएको बताए । उनले सवारीसाधन तीव्र गतिमा चलाउनुहुँदैन भन्ने सन्देश कार्यक्रमले दिएको बताए ।

    रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्ताले स्लो बाइक प्रतियोगिता युवाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम भएको बताए ।
    समाजसेवी प्रख्यात बन्जाडेले पछिल्लो समय मोटरसाइकलबाट सडक दुर्घटना बढेकाले सजग हुनुपर्ने र सवारी चालक अनुमति प्राप्त गरेका व्यक्तिले मात्र सवारीसाधन चलाउनुपर्ने बताए ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य हरि प्रसाद आचार्य, पत्रकारद्वय राधेश्याम विश्वकर्मा र रबिन्द्र प्रताप गुप्ताले बासले रचनात्मक कार्य गरेको बताए ।

    बास रुपन्देहीका अध्यक्ष किसन कंडेलको अध्यक्षता, पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता तथा बासका सचिव वृजेशमणि त्रिपाठी र केन्द्रीय सदस्य दीक्षा बोहराको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतियोगितामा प्रथम हुनेलाई प्रमाणपत्रसहित नगद रु. १० हजार, द्वितीयलाई रु. ६ हजार, तृतीयलाई रु. ३ हजार र सान्त्वनालाई रु. २ हजार प्रदान गरिएको बास रुपन्देहीले जनाएको छ । प्रतियोगितामा प्रथम भएका मनिष यादवलाई थप प्रोत्साहन पुरस्कारवापत कबिर सप्लायर्स, भैरहवाबाट १ थान मोटरसाइकलको टायर प्रदान गरिएको थियो ।

    IMG_0527.JPG

    प्रतियोगितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, बज अटोमोबाइल्स, नेपाल अल–बाइक रेष्टुरेण्ट, पश्चिमाञ्चल एडवरटाइजिंग, कबिर सप्लायर्स, होटल बोधी रेडसन, ग्लोबल आइएमई बैंक लिमिटेड, कन्ट्री व्हीलस्, पठान पेन्ट हाउस, गुराँस बिजनेश कन्सलटेन्टस्, नेपाल विद्युत प्राधिकरणको सहयोग रहेको थियो ।