
बुधवार , आषाढ १५, २०७९
भैरहवा, १५ असार ।
वर्षाका कारण भैरहवाका अधिकांश सडक जलमग्न भएका छन् । सडक जलमग्न भएपछि सवारीसाधन सञ्चालन तथा पैदलयात्रुलाई हिंड्डुलमा कठिनाइ भएको छ । पानीको उचित निकास नहुने कारण वर्षेनी यहाँका मुख्य तथा भित्री सडक डुबानमा पर्दै आएको छ । मुख्य (पीच) सडकमा पानी केही घण्टापछि सुके पनि भित्री सडक हिलाम्य हुने गरेका कारण पैदलयात्रुलाई घरबाट निस्कन समेत समस्या हुने गरेको छ ।
सिद्धार्थनगर–६ स्थित अमरनाथपथ–चित्रगुप्त पथमा पानीको निकासका लागि भन्दै निर्माण गरिएको नाला भत्काइएपछि अझ सास्ती खेप्नुपरेको स्थानीय अम्मर कुमार गुप्ताले बताए । उनले भने, ‘सत्सँग पथस्थित ठूलो नाला भत्किएका कारण पानी निकास नभएको निहुँमा अमरनाथपथ–चित्रगुप्तपथ अन्तर्गतको नाला भत्काउनु ठीक होइन । ’ उनले नाला भत्काउने क्रममा जथाभावी सडक खन्दा बालबालिका, वृद्धवृद्धा, अशक्त र अपांगता भएका व्यक्ति मारमा पर्ने बताए । बालबालिकालाई विद्यालय जान समेत समस्या भएको उनको भनाइ छ । यसरी जथाभावी नाला भत्काउन नहुने उनले बताए । आठ वर्षदेखि भत्किएको नाला निर्माणमा वडा तथा नगरपालिकाले ध्यान दिन नसकेको गुप्ताले बताए ।
सिद्धार्थनगरका केही स्थानमा सडक निर्माण कार्य अलपत्र पर्दा वर्षासँगै सडक हिलाम्य हुँदै आएको छ । विगत ४ वर्षदेखि सिद्धार्थनगर–९ स्थित कल्याणपथ, हरिपथसहितका सडक निर्माण कार्य अलपत्र परेको स्थानीय यादव प्रसाद आचार्य (वाई.पी.) बताउँछन् । सडक निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीको लापरवाहीका कारण हालसम्म पनि निर्माण कार्यसम्पन्न हुन नसके पनि सम्बन्धित निकायले कदम चाल्न नसक्नु दुःखद भएको उनले बताए ।
नगरका सडकहरु जलमग्न हुँदा विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धा सडकको छेउबाट हिड्दा घाइते हुन सक्ने जोखिम रहेको समाजसेवी प्रख्यात बन्जाडे बताउँछन् । उनले असार अगावै सडक तथा नाला निर्माण कार्यलाई सम्पन्न गर्नुपर्ने बताए । उनले भने, ‘असार विकासको परिणाम हो, अहिले निर्माणाधिन सडकमा क्षति पुगेको छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij