शनिवार , आषाढ ११, २०७९
भैरहवा, ११ असार ।
गृहमन्त्री बालकृष्ण खाँणले सरकार सञ्चालनका लागि नागरिकको सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् । उनले राजनीतिक पार्टी, आम नागरिक, मजदूर, किसान, उद्योगी, व्यवसायी एउटै डुंगामा रहेको र त्यो डुंगा डुब्यो भने सबै डुब्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभाको शुक्रबार भैरहवामा समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री खाँणले भने, ‘तपाईहरुलाई अफ्ठयारे पारेर सरकार कहाँबाट चल्छ, चल्न सक्दैन नी । ’ उनले सरकार सञ्चालनका लागि जतिसुकै आदर्शवादी कुरा गरे पनि बजेट आवश्यक रहेको बताए । सरकार र निजी क्षेत्रबीच छलफल गरेर हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । अन्तर्राष्ट्रियस्तरमै आर्थिक संकट आएकाले एकआपसमा आरोप–प्रत्यारोपण गर्नुभन्दा पनि संकटको निवारण कसरी गर्न सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने उनले बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले चर्को ब्याजदर उद्योगी व्यवसायी मारमा परेको बताए । उनले किसानले मल पाउन नसकेकाले सरकार यसतर्फ गम्भिर हुनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञहरु ल्याएर निजी क्षेत्रको साथ लिएर अघि नबढे अवस्था मुलुक झनै आर्थिक संकटमा जाने सक्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योग व्यवसाय सञ्चालनमा समस्या आएको बताए । उनले मूल्यवृद्धिले अफठ्यारो परिस्थितिको सिर्जना गरेको बताए । उनले भने, केही गर्न सकेका छैनौं, काम गर्छौं भनेका छौं तर यसका लागि सरकारले वातावरण बनाउनुपर्छ । प्रत्येक वर्ष बजेट आए पनि कार्यान्यवन र खर्च हुन नसकेको उनको भनाइ थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij