शिक्षा, स्वास्थ्य, उद्यमशीलता र कृषिलाई विशेष प्राथमिकता
शुक्रवार , आषाढ १०, २०७९
बुटवल, १० असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ल्याएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । बिहीबार नगरसभाको बाह्रौ अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाँणले उपलब्ध श्रोत–साधन र अवसरको उच्चतम प्रयोग र न्यायोचित वितरणबाटै विकास र समृद्धिको आकांक्षालाइ पुरा गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । बिहीबारकै नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो ।
समृद्ध नगर खुसी नगरबासीको नारासहित ल्याइएको नीति तथा कार्यक्रमले तिलोत्तमालाइ समृद्ध, समतामुलक, स्वच्छ, हराभरा र विकसित नगर बनाउने लक्ष्य लिइएको छ । जनप्रतिनिधिहरु शासक होइनन सेवक हुन् भन्ने मान्यताबाट सन्तुलित र समन्यायिक विकासलाई ध्यानमा राखेर नगरको सेवालाइ छिटोछरितो, जनउत्तरदायी र पारदर्शी बनाउने प्रद्धिवद्धता गरिएको छ ।
बाल्यकालमा शिक्षा,स्वास्थ्य र पोषण युवा अवस्थामा सीप,उद्यमशीलता र रोजगारी,जीवनको उत्तरार्धमा जेष्ठ नागरिकलाइ सम्मान संरक्षण महिलालाइ समता मुलक अवसर सिर्जना हुने गरी नीति कार्यक्रम तयार गरीएको नगरप्रमुख खाँणले बताए ।
नीति कार्यक्रमले शिक्षा, स्वास्थ्य, उद्यमशीलता र कृषिलाई विशेष प्राथमिकता दिइएको छ । श्रम बैंक तथा रोजगार सुचना केन्द्र स्थापना गरी सीप ज्ञान, दक्षताको आधारमा श्रमकार्ड वितरण गर्ने नीति लिइएको छ । हिंसामुक्त र समतामुलक समाज निर्माणका लागि समुदायस्तरमा सचेतनामुलक कार्यक्रमहरुलाई जोड दिइएको छ । महिला, बालबालिका र जेष्ठ नगारिक अनुकुलको नगर निर्माणमा ध्यान दिने भनिएको छ । एक वडा एक जेष्ठ नगारिक विश्रामस्थलका लागि ‘तिलोत्तमा चौपारी’ निर्माणको नीति लिइएको छ । युवाका लागि नगरप्रमुख युवा उद्यमी परिचालन कोष स्थापना गरी उद्यमशीलताको विकास गर्ने नीति लिइएको छ । लैंगिक, जातीय, क्षेत्रीय, धार्मिक सांस्कृतिक तथा भाषिक विभेदलाई निषेध गर्ने भनिएको छ ।
शिक्षातर्फ सामुदायिक विद्यालयहरुको विद्युत र पानीको महशुलमा ५० प्रतिशत छुट दिने र इन्टरनेट निःशुल्क बनाउने नीति लिइएको छ । वडा नम्बर १४ मा सिटी कजेज संचालनका लागि सिटिइभिटिइबाट सम्बन्धन लिएर विभिन्न विधामा कक्षा संचालन गर्ने, नैतिक तथा व्यवहारिक शिक्षाका लागि एक विद्यालय एक पुस्तकालय तथा ई–लाईब्रेरी संचालन गर्ने नीति लिइएको छ ।
हाल १२ वटा स्कुलमा सञ्चालन भएको एक विद्यालय एक नर्सको नीति आगामी वर्ष सबै सामुदायिक बिद्यालयमा लागु गर्ने भनिएको छ । आगामी वर्ष ३ वटा सामुदायिक विद्यालयलाई बस खरिदमा १० लाख विशेष अनुदान दिने र ती बस सञ्चालनमा प्रतिमहिना १ लाख दिने उल्लेख छ । सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिनेछ ।
सामुदायिक विद्यालयका कक्षा ६ सम्मका विद्यार्थीहरुको खाजा खर्चमा नगरबाट रु १० थप गरी २५ पुर्याइएको छ । बालबालिकामाथि हुने यौनजन्य हिंसाबाट बच्न प्रतिरक्षात्मक सीप तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने उल्लेख छ । प्रत्येक वडामा खेल मेदान र नगरमा रंगशाला निर्माण गर्ने भनिएको छ ।
स्वास्थ्यमा नगर प्रमुख विपन्न सहायता कोष स्थापना गरी गरीब विपन्न नागरिकहरुको गुणस्तरीय स्वास्थ्य उपचारमा सहज पहूँच र व्यवस्था गर्ने नीति लिइएको छ । स्वस्थ नगरबासी स्वस्थ नगर भन्ने नारासहित गुणस्तरीय स्वास्थ्य सेवामा नगरबासीको समतामूलक पहुँच विस्तार गर्ने भनिएको छ । नगरस्तरीय ल्याब स्थापना, नगरप्रमुखसंग जेष्ठ नागरिक स्वास्थ्य जाँच, ब्लड बैंक स्थापनालाई प्राथमिकता दिइएको छ ।
सेमरा हेल्थ पोष्टलाई १५ शैयाको अस्पताल बनाउने, वडा नम्बर ६ र १७ मा रहेको विपि ग्राममा निर्माणाधिन १५ शैयाको अस्पतालाइ संचालनमा ल्याउने भनिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई १ हजार भत्ता निरन्तरता दिइने, गर्भवती महिलालाइ निःशुल्क क्याल्सियम वितरण तथा सुत्केरी महिलाको पोषण सुधार गर्न गर्भवतीसँग उपमेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ । गर्भवती महिलालाइ निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भनिएको छ ।
कृषि क्षेत्रको विकास र प्रबद्र्धनका लागि पाँँचवर्षे कृषि योजना तर्जूमा गरी कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ । नगरप्रमुखसंग किसान कार्यक्रममार्फत नगरका कृषकहरुलाई संघ सरकारको किसानसंग सरकार कार्यक्रमबीच समन्वय गरी जोडने नीति लिइएको छ ।
नगरको वडा नम्बर १४ लाई तरकारीको पकेट, १२ लाई मकै पकेट क्षेत्र, १३ लाई माछा, १७ गहुँ पकेट क्षेत्रलाई प्रोत्साहन गर्दै अन्य वडामा पनि अध्ययन गरी विभिन्न बाली पकेट क्षेत्र बनाउने नीति लिइएको छ । कृषि र कृषक प्रोत्साहनका लागि विभिन्न अनुदानका कार्यक्रम ल्याइएको छ । पशुपालक किसानका लागि आधारभुत भेटेनेरी सेवा र भ्याक्सिन निःशुल्क गर्ने भनिएको छ ।
वडा नम्बर १७ को निर्माणाधिन चिस्यान केन्द्र सञ्चालनमा निजी तथा सहकारीसँग सहकार्य गर्ने भनिएको छ । जग्गा खाली राख्न नपाइने नीतिलाई निरन्तरता दिइएको छ । कृषि फार्महरु सञ्चालनलाई प्रोत्साहन गर्न नीति ल्याइएको छ । तिनाउ र रोहिणीका नदी उकास क्षेत्रमा उपयुक्त बाली लगाउन प्रोत्साहन गर्ने भनिएको छ । कृषि एम्बुलेन्स संचालनमा ल्याउने भनिएको छ ।
विदेशबाट फर्केकाहरुलाई कृषि पेशामा जोडन सामुहिक तथा व्यवसायिक योजनाहरुलाइ प्रोत्साहनको नीति लिइएको छ ।
एक घर एक धारा कार्यक्रम सफल बनाउन प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी काम गर्ने भनिएको छ । सिंचाइका लागि स्यालो ट्युवेल, पुराना सिंचाइको मर्मत संम्भार गर्ने, १६÷३६ सिंचाइका सम्पूर्ण ठुला साना नहर कुलो संरक्षण मर्मत सम्भार पक्की बनाउने लगायतका कामलाइ नीति कार्यक्रमले प्राथमिकता दिएको छ ।
तिलोत्तमालाई साइकल सिटीको रुपमा विकास गर्न आवश्यक गृहकार्य गर्ने भनिएको छ । यसअघि नगरका घरमा एकै किसिमका रं कोड लगाउनुपर्ने नियमलाइ हटाइ स्वेच्छिक बनाइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij