२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावकारी

बुधवार , आषाढ ८, २०७९

भैरहवा, ८ असार ।
रुपन्देहीमा कोभिड–१९ विरुद्धको खोपको अवस्था अत्यन्तै राम्रो छ । अन्य जिल्लाको तुलनामा जिल्लामा खोपको अवस्था राम्रो भएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले अहिलेसम्म १२ वर्षमाथिका १ सय प्रतिशत सबै नागरिकलाई २ मात्रा खोप लगाइसकिएको बताए । उनले जिल्लाका ७ वटा पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिसकिएको जानकारी दिए ।

उनले भने, ‘सबै पालिका पूर्ण खोप पालिका घोषणा गर्न तयार हुनुहुन्छ, पूर्ण रुपमा सबै नागरिकले १२ वर्ष भन्दा माथि उमेरका सबै नागरिकलाई खोप लगाइएको छ । अपांगता भएका व्यक्ति, अशक्त तथा वृद्धवृद्धाहरुलाई घरबाट खोप केन्द्रसम्म गाडीमा पुर्याएर समेत खोप लगाउन स्थानीय तहहरुको सक्रियता देखाएकाले जिल्लामा खोप अभियान प्रभावकारी भएको उनको भनाइ छ । अन्य नियमित कार्यक्रम बन्द नहुने गरी खोपको व्यवस्था मिलाइएको शर्माले बताए ।

रुपन्देहीमा कोभिड–१९ विरुद्धको खोप कम्तीमा एक डोज लगाउने र पूर्ण खोप लगाउने १०१ प्रतिशत तथा थप मात्रा २५ प्रतिशत रहेको उनले बताए ।

उनले यही असार ११ गतेदेखि सुरु हुने कोभिड–१९ विरुद्धको फाइजर खोपका लागि तयारी थालिएको बताए । उनले यो खोप ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने जानकारी दिए । पहिलो चरणमा जिल्लाको लुम्बिनी साँस्कृतिक, तिलोत्तमा, देवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकामा असार ११ देखि १४ गतेसम्म र बाँकी ११ वटा पालिकामा असार १५ देखि १८ गतेसम्म खोप यो खोप लगाइने जानकारी दिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले सबैको साथ र सहयोगले रुपन्देहीमा खोप अभियान सफल भएको बताए । उनले खोप अभियान सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

शिक्षा समन्वय तथा शिक्षा इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले कोभिड–१९ विरुद्धको फाइजर खोप अभियानअन्तर्गत सक्रियता प्रभावकारी रहने बताए । उनले भने, ‘अभियान सफल पार्न शिक्षा र स्वास्थ्यको नेटवर्कको परिचालन गर्नुपर्छ ।’