२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

बाल सुधारगृहका बन्दीलाई स्थानान्तरण गर्न खोज्दा भैरहवामा तनाव

मंगलवार , आषाढ ७, २०७९

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, ७ असार ।
    भैरहवास्थित बालसुधार गृहका बालक तथा किशोरलाई त्यहाँबाट अन्यत्र स्थानान्तरण गर्ने विषयमा तनाव उत्पन्न भएको छ । 
    बाल सुधार गृहको क्षमता भन्दा बढी बालक तथा किशोर भएपछि स्थानीय प्रशासनको समन्वयमा अन्यत्र सार्न लागिएको थियो । 
    भैरहवाबाट अन्यत्र सार्ने सुचना पाएपछि सुधार गृहमा सजाय भुक्तान गरिरहेका किशोरहरु जान नपाएपछि तनाव उत्पन्न गरेका थिए । 

    सुधारगृहभित्र रहेका किशोरहरूको समूहले तोडफोड गर्नुका साथै अराजक गतिविधि देखाएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरू उनीहरूलाई रोक्न खोज्दा उल्टै सुरक्षाकर्मीमाथि नै जाइलागेको रुपन्देही प्रहरी प्रमुख रबिन्द्र रेग्मीले बताए । उनीहरूले सुधारगृहभित्र सीसा फुटाउने, चक्कु प्रहार गर्न खोज्ने तथा आत्महत्या प्रयास गर्ने जस्ता गतिविधि देखाइरहेका छन् । साथै उनीहरूले नाराबाजी गर्दै हिंसात्मक गतिविधि देखाएको प्रहरीले जनाएको छ । 

    सुधारगृहमा रहेका किशोरहरुले अन्यत्र नजाने भन्दै प्रहरीमाथि सीसा तथा रडले प्रहरीमाथि आक्रमण गरेका थिए । 
    किशोरहरुको आक्रमणबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेललाई टाउकोमा चोट लागेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए । डीएसपी पौडेलका बडिगार्डलाई हातमा चोड लागेको छ । सुधारगृह भित्रबाट बालक तथा किशोरहरुले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । 

    ५०/६० जना अट्ने क्षमता भएको सुधार गृहमा अहिले १ सय १० जना रहेको सुधारगृह प्रमुख सुभद्रा पौडेलले जानकारी दिइन् ।
    सुधारगृह साँघुरो भएकाले स्थानान्तरण गर्न खोज्दा युवाहरू आक्रामक बनेको उनको भनाइ छ । भैरहवाबाट १७ जनालाई नेपालगंज, सराङकोट र भक्तपुर लैजान खोजिएको उनले बताए ।

    प्रहरीको बाक्लो उपस्थितिमा उनीहरुलाई भैरहवाबाट विभिन्न स्थान स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । 
    यसअघि पनि सुधार गृहभित्रका युवाहरू बाहिर निस्कने र लागूऔषध ओसारपोसार गर्ने गरेको खुलेको थियो । गत शनिबार पनि उनीहरूलाई लागूऔषध सप्लाइ गर्न रोक्न खोज्दा उनीहरू आक्रोशित बनेका थिए । 

    IMG_1343.JPG

    भैरहवा सुधारगृहमा हाल लागूऔषध लगायत विभिन्न मुद्दा खेपेका बालबालिकादेखि २५ वर्षसम्मका युवकहरू छन् । प्रमुख सुभद्रा गौतमका अनुसार सुधार गृहमा विशेष गरी १० जना युवाहरूले अराजक गतिविधिको नेतृत्व गर्दै आएका छन् ।