मंगलवार , आषाढ ७, २०७९
बुटवल, ७ असार ।
नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरपालिकाद्वारा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकार पुरस्कृत हुुने भएका छन् । महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले मूल्यांकन समितिले २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाललाई पुरस्कृत गर्न गरेको सिफारिसलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशी ५० हजार रहेको छ । जिसी नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एवं लुम्बिनी दैनिकका सल्लाहकार सम्पादक हुन । त्यस्तै आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान सचिव र दैनिकपत्रका प्रबन्ध सम्पादक हुन् । भुसाल नागरिक दैनिक लुम्बिनी प्रदेश प्रमुख हुन ।
पुरस्कार केही दिनमै विशेष समारोह गरेर वितरण गर्ने महासंघ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीको सबैभन्दा गर्विलो पुरस्कारका रुपमा यसलाई लिने गरिन्छ ।
कोभिडका कारण रोकिएको तीन वर्षको पुरस्कार मूल्यांकनका लागि महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार विनोद पहाडीको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो । मूल्यांकन समितिको सदस्यमा खिमानन्द भट्टराई र भगवती पाण्डे सदस्य रहेका थिए । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले मूल्यांकन समितिलाई धन्यवाद दिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij