२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

समाचार र पत्रकारका विषयमा अन्तरक्रिया

मंगलवार , आषाढ ७, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, ७ असार ।  
    नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्री मिडिया नेटवर्कको आयोजनामा प्रशासन, शुरक्षा निकाय, नागरिक समाज र पत्रकारहरुका बीचमा अन्तरक्रिया गरिएको छ । समाजमा रहेका घटनामा सञ्चारमाध्यम, पत्रकार, प्रशासन, सुरक्षा निकाय र नागरिक समाजको भूमिकाको विषयमा गरिएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले समाज परिवर्तनका लागि मिडियाले लुकेका कुराहरु बाहिर ल्याउन जरुरी रहेको बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारले उठाएका समाज रुपान्तरणका मुद्दामा प्रशासन, सुरक्षा निकाय र नागरिक समाजले सहयोग गर्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपा विश्वकर्माले स्थानीय तहको निर्वाचनको समयमा आस्थाका आधारमा मिडिया विभाजित भएको बताउँदै आस्था भए पनि सही सूचना दिन आग्रह गरिन् । उनले जनताका दैनिक जीवनयापनका मुद्दाहरुलाई नउठाएको बताउँदै बजारमा बढिरहेको महंगी र कालोबजारीको क्षेत्रमा कलम चलाउन पत्रकार र सञ्चार माध्यमलाई आग्रह गरिन् । उनले प्रदेश सरकार मिडियामैत्री भएको दावी गर्दै उनले सुूचना प्रवाहमा कुनै कमी नरहेको उल्लेख गर्दै आवश्यक सहकार्य गर्न तयार रहेको बताईन् ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार तथा पूर्व अध्यक्ष विनोद पहाडीले समाजले चाहेका विषयहरु अझै ओझेलमा परेमा बताउदै कुराहरुलाई बाहिर ल्याउन नसकिएको स्वीकार्दै थप पहल गर्नुपर्ने बताए । उनले मिडिया र नागरिक समाजले भ्रष्टाचार, असारे विकासको बारेमा बोल्नुपर्ने बताए । मिडिया संख्यात्मक रुपमा धेरै रहेको बताउँदै मिडिया उद्यमीको बारेमा कोही नबोल्दा समस्या आएको गुनासो समेत गरे ।

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोबिन्द खनालले सञ्चार माध्यमले कलम चलाईरहेपनि गहिराईमा पुग्न नसकेको बताए । उनले पत्रकार महासंघले प्रकाशित समाचारहरुको बारेमा छलफल गर्नुपर्ने बताउँदै समाचारका विषयमा अझै गम्भिर बन्नुपर्ने बताए । उनले निर्वाचनका समयमा उम्मेदवारहरुबीच मित्रवत व्यवहार रहे पनि पत्रकारका बीचमा त्यो सम्बन्ध नरहेको बताउँदै समाचार प्रकाशनमा ध्यान दिन आग्रह गरे । उनले प्रकाशित समाचारले मिडियाको शाखमा प्रत्यक्ष प्रभाव पारेको बताउँदै त्यसमा ध्यान दिन आग्रह गरे । उनले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

    ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख पुष्कर रानाले पत्रकारहरुले अझै पनि खोजी क्षेत्रमा कम मात्रै कलम चलाएको बताए । उनले यतिबेला राष्ट्रिय परिचयपत्र वितरणमा निकै गुनासा समस्याहरु आए पनि पत्रकारले त्यो तर्फ कुनै समाचार नलेखेको बताए । उनले दैनिक समस्याका मुद्दाहरुलाई उठाउनुपर्ने बताउँदै कामका प्रसेसबारे पनि जानकारी दिनुपर्ने बताए ।

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठग बहादुर केसीले अनुसन्धानकै क्रममा रहेका कुराहरुलाई अन्त्यै मोड्ने काम भइरहेको बताउँदै यसको अन्त्य हुनुपर्ने बताए । उनले केही घटना भएमा छानबिन गर्ने काम प्रहरीको भए पनि विषय मोडेर द्धन्द्धको अवस्था आइरहेको बताए । उनले सुरक्षा निकाय सञ्चारकर्मीलाई सुचना दिन तयार नै रहेकोेले त्यही अनुसार सहकार्य गर्न आग्रह गरे ।

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले विदेशमा जस्तो नेपाली पत्रकारहरुले कुनै सुविधाहरु नपाएको अनुभव रहेको बताए । उनले समाचारका प्राथमिकताका आधारमा स्थान दिनुपर्ने बताए । रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले पत्रकारिताले दैनिक रूपमा जनताले भोगेका समस्याको बारेमा समाचार बनाउनुपर्ने भए पनि त्यो नभएको बताए । उनले मिडियाले नयाँ कुरा, भ्रष्टाचार, दुराचार, असारे विकास लगायतका कुराहरुमा ध्यान दिनुपर्ने बताए । उनले व्यवसायिक क्षेत्रबाट साथ सहयोग रहने बताए ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य अरूणकुमार श्रेष्ठले जनताले भोगेका समस्यामा कलम चलाउन आग्रह गरे । उनले आवश्यक सहकार्यका लागि बुटवल तयार रहेको बताए ।

    राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार अधिकृत दीपक ठाकुरले आवश्यकता र समय अनुसार फरक फरक मुद्दाहरु हुने बताउँदै ती मुद्दालाई पुर्णता दिन आग्रह गरे ।

    सञ्चारिका समूह रूपन्देही अध्यक्ष निरू गौतमले सबै क्षेत्रले सही सूचना सही समयमा हुनुपर्ने माग गरिन् । उनले यस क्षेत्रमा विट पत्रकारिता नहुँदा समस्या रहेको बताउँदै उचित पारिश्रमिकको विषयमा पनि बोल्नुपर्ने बताइन् ।  गैरसरकारी संस्था महासंघ रूपन्देही अध्यक्ष रिमा विसिले खोजि समाचार लेख्ने पत्रकारहरु ओझेलमा परेको देखिएको बताइन् ।

    पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले पत्रकार र मिडियाले सेल्फसेन्सरसिप गर्नुपर्ने बताए । कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले फ्रि मिडिया नेटवर्कलाई अझ व्यवस्थित रुपमा अघि बढाउन निरन्तर छलफल गर्न आवश्यक रहेको बताए । कार्यक्रमको सञ्चालन सचिव विनोद परियारले गरेका थिए ।