सोमवार , आषाढ ६, २०७९
काठमाडाैँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रूपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुई जना पाइलट राख्नुपर्ने निर्णय गरिएको जनाएको छ।
यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोकेबमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ।
हाल नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन्।
प्राधिकरणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौं बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ।
हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ।
यसैगरी हेलिकप्टरले पनि यही असार ७ गतेदेखि तोकिएका काठमाडौं बाहिरका विमानस्थलमा आफ्नो रात्रि बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने निर्णयसमेत गरेको छ। रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij