images

बिहिवार, चैत्र १५ गते २०८०

लुम्बिनीसँगै स्थानीयको अवस्था फेरिएला त ?

लुम्बिनीसँगै स्थानीयको अवस्था फेरिएला त ?

images
images
images
आइतवार, आषाढ ५ २०७९
आइतवार, आषाढ ५ २०७९
  • लुम्बिनीसँगै स्थानीयको अवस्था फेरिएला त ?

    भैरहवा । यो हप्ता धेरै हल्लाखल्ला नगरीकन संयुक्त राष्ट्रसंघको एक प्रतिनिधिमण्डलले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेर फर्केको छ। राष्ट्रसंघका सहायक महासचिव कन्नी विङ्गराजाको नेतृत्वमा लुम्बिनी आएको उक्त प्रतिनिधिमण्डलले स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने कुरा पनि गरेको छ। त्यसका लागि राष्ट्रसंघीय विकास कार्यक्रम स्थानीय सरकारसँग काम गर्न इच्छुक रहेको कुरा कन्नी विङ्गराजाले बताउनु भएको छ।

    images
    images
    images

    बुद्ध जन्मस्थल भनेर संसारभरि चिनिए पनि कपिलवस्तु जिल्ला नेपालमा गरिबीका हरेक सूचकमा सबैभन्दा तल पर्ने जिल्लाहरू मध्ये एक हो। बुद्ध जन्मस्थलमा धार्मिक तथा पर्यटकीय गतिविधि बढे पनि स्थानीय बासिन्दाले न त त्यसको फाइदा पाएका छन् न उनीहरूको जीवनस्तरमा नै कुनै प्रगति भएको छ।

    प्रतिनिधिमण्डलको भ्रमणका क्रममा राष्ट्रसंघीय विकास कार्यक्रमले पर्यटनको प्रतिफल स्थानीय जनतासम्म पुर्‍याउने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेलगायतका कुरा पनि भएका छन्।

    यो भ्रमण लुम्बिनीको विकाससँग मात्रै नभएर सिंगो बुद्ध, धर्म र सङ्घसँग जोडिएको छ। ऐतिहासिक तथ्यलाई केलाउँदा बुद्ध जन्मस्थल लुम्बिनीको योजनाबद्ध विकास र प्रवर्द्धनमा संयुक्त राष्ट्रसंघको संस्थागत योगदान महत्वपूर्ण रहेको छ।

    लुम्बिनीको गुरुयोजना नै संयुक्त राष्ट्रसंघकै पहलमा तयार भएको हो भन्दा अनर्थ हुँदैन। तर उक्त गुरुयोजना अनुसारको न समयमा काम सकिएको छ नत गुरुयोजना अनुसार नै काम भएको छ। जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टागेले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थानको आग्रहमा लुम्बिनी गुरुयोजना तयार गर्नुभएको हो ।

    सहायक महासचिव विङ्गराजा सहितको प्रतिनिधि मण्डलले लुम्बिनी स्थित मायादेवी मन्दिर , श्रीलंकन बिहार, थाई बिहार भ्रमण र वृक्षारोपण समेत गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो।

    गुरुयोजना निर्माण र विकास समिति गठनमा राष्ट्रसंघको भूमिका

    लुम्बिनी गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय स्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसंघकै भूमिका रहेको छ। सन् १९६७ को अप्रिलमा राष्ट्रसंघका तत्कालीन महासचिव उ थानले लुम्बिनीको भ्रमण गर्नुभयो। त्यो क्रममा उहाँले बुद्ध जन्मस्थल लुम्बिनीको विकास नभएको देख्नुभयो। लुम्बिनी क्षेत्रको अवस्था दयनीय देखेपछि उहाँले नेपालका राजा महेन्द्रसँगको भेटमा लुम्बिनीको विकासका लागि आफू सहयोग गर्न तयार रहेको बताउनुभयो।

    यसरी आफूले भ्रमण गरेको लुम्बिनी क्षेत्रको विकासका लागि आफैले के सहयोग चाहिन्छ भनेर सोध्ने अन्तर्राष्ट्रिय जगतको माथिल्लो ओहोदाको पहिलो व्यक्ति पनि संयुक्त राष्ट्रसंघको महासचिव उ थान नै हो। उ थान सहित अहिले सम्म पाँच जना महासचिवले लुम्बिनीको भ्रमण गरिसक्नुभएको छ। राष्ट्रसंघका महासचिव ड्याग हयामरसोल्ड, उत्थान्त, ज्याभियर पेरिज डि कुईलर, कर्ट वाईल्डहाईम र वानकी मुनले लुम्बिनीको भ्रमण गर्नुभएको छ।

    लुम्बिनीको भ्रमण गरेपछि लुम्बिनीको योजनाबद्ध विकासको सुरुवात भएको हो। त्यसै कारणले अहिले सम्म पनि संयुक्त राष्ट्रसंघका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष महत्वका साथ हेर्दै आएका छन्।

    उ थानले लुम्बिनी भ्रमण गरेर काठमाडौँ फर्केपछि राजा महेन्द्रलाई भेट्नुभयो। उ थानको कुरा सुनेपछि राजा महेन्द्रले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको सहयोग लिने बताउनुभयो। राजा महेन्द्र र उ थानबीच भएको छलफलको केही महिना पछि नेपालको तर्फबाट तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका किर्तिनिधि विष्ट सन् १९६७ को अक्टोबरमा अमेरिका भ्रमणमा जानु भएको थियो। सरकारी भ्रमणको रुपमा रहेको उक्त समयमा विष्टले उ थानलाई भेटी नेपाल सरकारको तर्फबाट औपचारिक रुपमा लुम्बिनी विकासमा सहयोग गरिदिन आग्रह गर्नुभयो। नेपाल सरकारको उक्त औपचारिक अनुरोधपछि संयुक्त राष्ट्रसंघले यातायात, पर्यटन, भूमिगत जलस्रोत जस्ता क्षेत्रका विज्ञ नेपाल पठायो। उक्त टोलीले एक वर्ष सम्म काम गर्यो। सोही विज्ञ टोलीको सुझाव अनुसार उ थानले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय रुपमा सहयोग जुटाउने उद्देश्यले अपील समेत गर्नुभयो। त्यही बैठकले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन गर्यो। उक्त बैठकले राष्ट्रसंघको स्थायी प्रतिनिधि मेजर जनरल पदम बहादुर खत्रीको संयोजकत्वमा सन् १९७० मा १६ सदस्यीय लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति निर्माण भयो। ७ सदस्यीय उक्त समितिमा बौद्ध परम्परा र सम्पदा भएका देशहरू सदस्य रहेका थिए। पछि ३ देश थपेर १६ सदस्यीय बनाइयो। अहिले उक्त समिति सक्रिय छैन। यद्यपि सन् २००५ को १६ मा अन्तिम बैठक बसी अर्को बैठक लुम्बिनीमा बस्ने निर्णय गरेको थियो तर त्यसयता बैठक बस्न सकेको छैन।

    राष्ट्रसंघका सहायक महासचिवको यतिबेलाको भ्रमणमा उक्त समितीलाई सक्रिय बनाउने विषयमा छलफल भएको छ। पछि गोपाल किराती संस्कृति मन्त्री भएको बेला बृहत्तर लुम्बिनी अन्तर्राष्ट्रिय निर्देशन समिती समेत गठन गरियो। त्यसको संयोजक पुस्पकमल दाहल प्रचन्ड बने। उक्त समितीले संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनसँग भेटेर लुम्बिनीको विकासकोलागि छलफल पनि अगाडी बढाएको थियो। उक्त समिती पनि पछिल्लो समय सक्रिय हुन सकेको छैन।

    विकास कोषका बरिष्ठ प्रकाशसकीय अधिकृत ज्ञानिन राईले लुम्बिनी आज जुन ठाउमा छ त्यो ठाउमा आउनेगरी विकास हुनुमा संयुक्त राष्ट्रसंघकै योगदान रहेको बताए। उहाँले भन्नुभयो, ‘लुम्बिनी विकासकोलागि अन्तर्राष्ट्रिय समिती निर्माण थियो। त्यसलाई पुर्नजीवन दिएर अगाडी बढाईयो भने लुम्बिनीको विकास, प्रबद्र्धनमा अन्तर्राष्ट्रिय स्तरमा ठूलो सहयोग मिल्नेछ।’ सहायक महासचिव विङ्नगरा सहितको प्रतिनिधी मन्डलसँग लुम्बिनी विकासकोलागि अन्तर्राष्ट्रिय समितीको पुनस् जीवनकोलागि पनि छलफल भएको राईले बताउनुभयो।

    सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना ४४ वर्ष बितिसक्दासमेत अधुरो छ। अहिले सम्म ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। यतिबेला केही योजनाका काम अगाडि बढेका छन्। गुरुयोजना अनुसार नयाँ काम हुनुपर्नेमा योजना विपरित पहिले निर्माण कोष भित्रका सडक संरचना भत्काई रूप परिवर्तन गर्न लाग्दा गुरुयोजनाको काम अझै कति वर्षमा सकिने हो कुनै निश्चित छैन। तथापि आजका दिन सम्म जे जति काम भएका छन् त्यसको जग बसाल्ने काम भने संयुक्त राष्ट्रसंघले नै गरेको हो।

    लुम्बिनीलाई सानो बौद्ध संसारको रुपमा पनि विकास गरिदैछ। आजका दिनमा लुम्बिनीप्रति विश्व समुदायको चासो रहँदै आएको छ। नेपाल सरकारले पनि आर्थिक वर्ष ०७९/०८० को बजेटमा लुम्बिनीलाई धार्मिक पर्यटनको क्षेत्रको रुपमा विकास गर्नेगरी बजेटमा व्यवस्था गरेको छ। यसरी संसारकै अर्बौँ बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको, संस्कृति र पुरातत्वको क्षेत्रमा चासो राख्नेहरूका लागि सांस्कृतिक र पुरातात्विक महत्व भएको लुम्बिनीको विकासका लागि सबैको सहकार्य र एकता जरुरी रहेको छ। लुम्बिनी त्यसै आजको अवस्थामा आएको होइन्। आजभन्दा ४३ बर्ष अगाडी नेपाल सरकारले तत्कालीन समयमा ७ गाँउ हटाएर शुरु गरेकोको योजनाले आजका दिनमा लुम्बिनी केही देखिने र चासो राख्ने ठाउँ भएको छ। तर लुम्बिनीका लागि घरबार छाडेकाहरूका लागि यो ठाउँ सधैँ बिरानो हुने गरेको स्थानियहरूको आरोप छ।

    लुम्बिनीको उत्खनन

    पाल्पाका बडाहाकिम खड्गशमशेरले स्थानीय बासिन्दाको सहयोगमा सन् १८९६ मा लुम्बिनी (पडेरिया) मा लडेको अशोकस्तम्भ खन्न लगाएका थिए। भारतको पुरातत्व विभागले खटाएका पुरातत्त्वविद् ए. फुहरर सोही वर्ष १ डिसेम्बरमा त्यहाँ आइपुगे। अशोकस्तम्भको अभिलेख प्रकाशमा आएपछि बुद्ध जन्मस्थल लुम्बिनी फेला परेको सनसनी विश्वमा चल्यो।

    उनी फर्केपछि पूर्णचन्द्र मुखर्जी आएर यहाँको विवरण सन् १९०१ मा प्रकाशन गरे। सन् १९३३–३९ बीच केशरशमशेरले मायादेवीको आसपास र पुष्करिणी तलाउको उत्खनन गरे। यस्तै, एनआर बनर्जी (१९६६–७२), बाबुकृष्ण रिजाल (१९७५–८३), तारानन्द मिश्र (१९८४–८५), जापान बौद्ध संघ, लुम्बिनी विकास कोष र पुरातत्व विभागको सक्रियता (१९९३–१९९७) मा यहाँ अन्वेषण तथा उत्खनन गरिए।

    विश्वका शान्तिप्रेमी मानवको पवित्र थलो भएकाले सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरियो। राष्ट्रसंघको टोलीले १० डिसेम्बर १९६७ देखि ९ जनवरी १९६८ सम्म लुम्बिनी विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदिबारे विशेष परामर्श दिएको थियो।

    यसको विकासका लागि पाकिस्तान, श्रीलंका, भारत, म्यानमार, अफगानिस्तान, थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, जापान, सिंगापुर र जापान आदि १३ मुलुकहरू सहभागी रहेको अन्तर्राष्ट्रिय लुम्बिनी विकास समिति गठन गरियो। यस समितिमा पछि भूटान र दक्षिण कोरियालाई थपी १५ सदस्यीय बनाइएको थियो।

    सन् १९८६ मा अन्तर्राष्ट्रिय शान्ति वर्षको स्मरणमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले लुम्बिनीमा विश्वशान्ति दीप प्रज्वलित गरेका थिए। अहिले यो दीप विश्वशान्तिको प्रतीकका रूपमा बलिरहेको छ। लुम्बिनीलाई सरकारले योजनाबद्ध विकास गर्न सकेमा पर्यटनमार्फत् नेपालमा बर्सेनि अर्बौं रुपैयाँ आर्जन गर्न सकिन्छ। कोभिढ महामारीको कारण लुम्बिनीमा बिदेशी पर्यटक आउने क्रम करिब शून्य जस्तै भएको बेला गत जेठ २ गते सम्पन्न बुद्धजयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले लुम्बिनी भ्रमण गरेपछि पर्यटक आउने दर हवात्तै बढेर गएको छ। लुम्बिनीको पर्यटन प्रवर्द्धनमा भारतीय प्रधानमन्त्री मोदिको भ्रमणले थप टेवा दिएको देखिएको छ। आजभोलिको ४० डिग्रीको प्रचण्ड गर्मिमा पनि स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी घुम्न आउनेको संख्या बढीरहेको छ। (आइएनएस-स्वतन्त्र समाचार)

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij