
आइतवार , आषाढ ५, २०७९
भैरहवा, ५ असार ।
श्री जन जागृति सचेतना क्लबको छैठौं वार्षिक भेला तथा जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा अवस्थित क्लबले वडा नम्बर ८ बाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो । क्लबका अध्यक्ष मीना क्षेत्री बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहिद स्मृति पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवालीले खादा ओढाइ सम्मान गर्दै टोलबासीको तर्फबाट टोलमा भएका समस्याहरु जनप्रतिनिधि सामु राखेका थिए । त्यस्तै संस्थाको तर्फबाट संस्थाका सल्लाहकार कुमुद त्रिपाठी पाठकले निर्वाचित जनप्रतिनिधिले जनताको पक्षमा काम गरी नमूना वडा बनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष राजनजंग राणाले आफूले जनताको विपक्षमा एउटा पनि काम नगर्ने प्रतिवद्धता जनाएका थिए । आफू यसअघि पनि यसै वडाबाट वडाअध्यक्षमा निर्वाचित भएको नाताले यहाँका समस्याबारे जानकार भएका कारण पहिले पुरा हुन नसकेका कामहरु यो कार्यकालमा पुरा गरी जनतालाई खुसी दिने समेत उनले दावी गरे ।
कार्यक्रममा एकजना महिला अटोचालक बिमला रोकालाई साहसी महिला शिर्षकमा सम्मान गरिएको थियो । बिमलाले आफ्नो सानो बच्चालाई बोकेर अटो चालकको काम गरिरहेकी छन् । उक्त भेलामा संस्थाको आन्तरिक छलफलमा संस्थाको वर्तमान अवस्था र भावी योजनाबारे अध्यक्ष मीना क्षेत्रीले प्रस्तुत गरेकी थिइन् । क्लबका कोषाध्यक्ष बिष्णु पौडेलको स्वागत तथा सचिव सरस्वती पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij