शनिवार , आषाढ ४, २०७९
रुपन्देही, ४ असार ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालमै सुखी र सम्मानित जीवन जिउन सम्भव छ भन्ने सन्देश दिन आवश्यक रहेकामा जोड दिएका छन् । रिटर्नी फेडेरेशन नेपालको शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश भेलामा उनले विभिन्न मुलुकमा रहेका नेपालीलाई मातृभूूमिमै भविष्य भएकाले सम्भावनाको खोजीका लागि प्रेरित गर्नुपर्ने बताए । उनले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा योगदान पुर्याउँदै स्वदेशमै फर्किएर सम्मानित जीवन जिउन सकारात्मक सन्देश फैलाउन रिटर्नी नेपालले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए ।
“हामी सरकारमा छँदा यी कुरालाई ध्यानमा राखेर काम गर्यौँ, तर सरकार परिवर्तनसँगै देशमा भविष्य खोज्नेहरू अन्योलमा पर्ने अवस्था सिर्जना भएको छ, यहाँहरूले सकारात्मक सन्देश प्रवाह गरी प्रवासमा रहेकाहरू पनि फर्किने वातावरण बनाउनुपर्छ”, उनले भने ।
सम्भावना देखेपछि विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरू स्वदेश फर्किने वातावरण तयार हुने भन्दै उनले नमूना काम गरेर देखाउन रिटर्नी नेपालका सदस्यहरूलाई आग्रह गरे ।
रिटर्नी फेडेरेशन नेपालका महासचिव लक्ष्मीप्रसाद आचार्यले रिटर्नी स्वदेशमै केही गर्ने सपना बुनेर विदेशबाट फर्किएकाको संस्था भएकाले यसलाई आर्थिक क्रान्तिका माध्यमबाट देशको समृद्धिमा लगाउने बताए । उनले मंसिरसम्ममा १० उद्योग सञ्चालनको तयारीमा रहेको जनाउँदै रगत र पसिनाको कमाएको लगानी गर्ने भएकाले स्वदेशको उत्पादनलाई स्थानीय तहले प्राथमिकता दिने नीति बनाउनुपर्ने बताए ।
भेलामा रिटर्नी नेपालका प्रदेश इञ्चार्ज हीरादेवी खरेलले विदेशको अनुभवलाई स्वदेशमा परिचालन गरी आर्थिक विकासतर्फ अघि बढ्नुपर्ने बताए । रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij