
शनिवार , आषाढ ४, २०७९
भैरहवा, ४ असार ।
मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नेपाल भारत सीमा क्षेत्रको निरीक्षण गरेका छन् । अवधि सम्मेलनमा भाग लिन कपिलवस्तु पुगेका अध्यक्ष डा. दत्तले नेपाल–भारत सिमानाका मर्यादपुर लगायतका सीमा क्षेत्रको स्थलगत अवलोकन र निरीक्षण गरेका हुन ।
शनिबार दिउँसो करिब ३ बजेदेखि साढे ५ बजेसम्म स्थानीयसँग छलफल र भलाकुसारी गर्दै अध्यक्ष डा. दत्तले सीमा समस्याका बारेमा जानकारी लिएका छन् । उनले यशोधरा गाउँपालिका अध्यक्ष शिवदयाल तिवारी र स्थानीय जनप्रतिनिधिसँग समेत भेटघाट गरेका छन् ।
भलाकुसारी र छलफलका क्रममा अध्यक्ष डा.दत्तलाई स्थानीयबासीले मल र कृषिको समस्या नै मुख्य समस्याको रूपमा रहेको बताए । सो अवसरमा उनलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी लगायतले समग्र वस्तुस्थिति र सिमा क्षेत्रको समस्याका बारेमा जानकारी गराएका थिए ।
स्थलगत निरीक्षण पछि अध्यक्ष डा.दत्तले सीमा लगायतका कुनै पनि नागरिकलाई समस्या हुन नदिन तथा अवैध क्रियाकलापमा तत्काल रोक लगाउन स्थानीय सुरक्षा निकायलाई निर्देशन दिएका थिए । सो निरीक्षणमा आयोगका सदस्य विजय गुप्ताको पनि उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij