२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

रुकुमपूर्वमा भेडी गोठाला पाटन उक्लिए

शुक्रवार , आषाढ ३, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • रुकुमपूर्व, ३ असार ।

    रुकुमपूर्वमा भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिका–१ र २ का भेडी गोठाला भेडाको बथानसहित पाटन उक्लिएका हुन् । 

    फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ पाटनतिर लगेपछि यहाँका गाउँ सुनसान बनेका छन् । वैशाखदेखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् । जेठ अन्तिम सातासम्म लगभग सबै गोठाला भेडा, बाख्रा र गाईको बथानसहित पाटन उक्लिसक्ने पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताए । 

    बेँसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएका कारण उनीहरु आफूले पालेका वस्तुभाउसहित पाटन उक्लने गरेका हुन् । 

    तकसेराका भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्म पाटन गएका गोठाला गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन् । सुरक्षाका लागि उनीहरुका साथमा कुकुर रहने गर्छ । उनीहरु खाद्यान्नसहित त्यहाँ जाने गर्छन् । “अहिले पाटन उक्लिएका सबै  भेडी बथानसँगै दसैँमा बेँसी झर्छन्”, उनले भने ।  

    पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, पूर्वाङ, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग ६ महिना बिताउने गरेको स्थानीय सुवा बुढामगरले बताए । पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन् । हिमाली क्षेत्र भएकाले यहाँ बाह्रै महिना एकै ठाउँमा बसेर भेडापालन गर्न भने सकिँदैन । रासस