बिहिवार , आषाढ २, २०७९
काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ ।
नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पारे ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाणले भने, “एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै निर्णय गरेको छैन, निर्णय गर्ने सोच राखेको पनि छैन, यसमा सुस्पष्ट रुपमा प्रतिबद्धता राख्न चाहन्छु ।”
नेपालको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा संविधानमा व्यवस्था भएअनुसार नेपाल सरकारले काम गरिरहेको उनले जानकारी दिए । नेपाल र अमेरिकाबीच पहिलेदेखि नै सद्भावना भ्रमण जारी रहेको र दैनिक सहयोग आदानप्रदान भइरहेको तथा यसअघिका भ्रमण र सहयोग विगतको निरन्तरता रहेको उनले आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्रालयका तर्फबाट जवाफ दिने क्रममा बताए ।
सांसदहरुले सोधेका पुरक प्रश्नको जवाफमा गृहमन्त्री खाणले एमसिसी सम्झौता सहमतीमै पास भएको र एसपिपीमा नेपालको कुनै संलग्नता नरहेको दोहोर्याए । उनले एमसिसी कुनै सैन्य परियोजना नभई विकास परियोजना भएको भन्ने सोचका साथ नै अघि बढाइएको र पछि व्याख्यात्मक टिप्पणीका साथ पास भएको स्पष्ट पारे ।
“एसपिपीमा हामी संलग्न हुँदैहुँदैनौ भनिरहेका छौँ, हिजो एमसिसीमा पनि जे बोल्यौँ त्यही गर्यौँ, आज पनि जे बोल्छौँ त्यही गछौँ”, गृहमन्त्री खाँणले थप प्रष्ट्याउँदै भने, “यो स्टेट पाटनरसिप प्रोग्राममा नेपाल संलग्न हुँदैन हुँदैन हुँदैन ।” रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij