
मंगलवार , जेठ ३१, २०७९
दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वली बिरुद्ध कारबाहीको लागी किटानी जाहेरी परेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा मिना भण्डारी बस्नेतले मन्त्री विमलालाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन । प्रहरीले त्यो जाहेरीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा पठाएको छ ।‘अनुसन्धान र कारबाही घोराहीबाटै हुने भएकाले यहाँ आएको जाहेरीलाई घोराही पठाएका छौं’ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख रञ्जन स्वारले भने–‘जिल्लामा पठाउन आदेश भए अनुसार उतै पठाएका छौं ।’
घर भित्र छिरेर आफू र छोरीलाई कुटपीट गरेको भन्दै कारबाहीको माग सहित उजुरी दिएकी हुन । दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री विमलाविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताए ।
‘राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौ,’ एसपी काफ्लेले भने–‘ईप्रकाबाट जाहेरी आइपुग्नेबित्तिकै हामी कानूनी प्रक्रिया अगाडि बढाउँछौँ ।’
स्वास्थ्य राज्यमन्त्री विमलाले आज बिहान एकराज बस्नेतको घरमै गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेकी थिइन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी हुन् । विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको उनले बताएकी छन् । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि हमला गरेको उनको भनाइ छ ।
त्यस क्रममा आफ्नो कपाल लुछेर लडाई लात्ती र मुड्कीले हानेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । छ्ट्याउन आउँदा ६ वर्षकी छोरीलाई समेत हातपात गरेको उनले बताएकी छन् । विमला वली दिवंगत उत्तरकुमार वलीकी श्रीमती हुन । सवारी दुर्घटनामा वलीको निधन पछी नेकपाले उत्तरको ठाउँमा विमलालई चुनाव लडाएको थियो । निर्वाचन जीतेकी विमलाले नेकपा माओवादी पार्टी रोजेकी थिइन् । मन्त्री भएकै समयमा एकराज बस्नेत संग वलीको चुम्मन गरेको तस्विर सार्वजनिक भएको थियो । त्यसपछी वली विवादमा तानिएकी थिईन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij