सोमवार , जेठ ३०, २०७९
भैरहवा, ३० जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित श्री गणेश कालिका मन्दिरको स्वामीत्वमा रहेको सटरको कोठा भाडा उठ्न नसकेपछि तालाबन्दी गरिएको छ । सोमबार वडा समितिको कार्यालय वडा नम्बर १२ को रोहबर, प्रहरी तथा स्थानीयको उपस्थितिमा तालाबन्दी गरिएको हो । सटर खाली गराउन लाग्नुअघि नै सम्बन्धित व्यवसायीले पसल बन्द गरेकाले तालाबन्दी गर्नुपरेको मन्दिर व्यवस्थापन समितिका सचिव तथा सिद्धार्थनगर–१२ का निवर्तमान वडा सदस्य सरोज ठकुरीले बताए ।
एउटा मात्र सटर रहेको मन्दिरमा पटकपटक मौखिक जानकारी तथा लिखित पत्राचार गर्दा समेत व्यवसायीबाट अटेर गरिएको तथा वडा कार्यालयमा भएको सहमतिको समेत कार्यान्यवन नभएको ठकुरीले जानकारी दिए । उनका अनुसार बक्यौता भाडा रकम हालसम्म १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ । उनले भने, ‘सौरभ पूजा सामग्री पसल सञ्चालन गर्नुभएकी पुनम थापाले २०७२ सालदेखि सटर कोठाको विद्युत महशुल र २०७६ सालदेखि सटर भाडा बुझाउनुभएको छैन, निरन्तर रुपमा सटर कोठा खाली गर्नको लागि पटकपटक पत्राचार गरे पनि अटेर गर्नुभएको छ ।’ व्यवसायीले भाडा बुझाउँछु भन्ने गरेको तर व्यवहारमा भने नतिरेको ठकुरीले बताए । व्यापार गरिरहने तथा कोठाको भाडा नतिर्ने प्रवृत्ति गलत भएको उनले बताए ।

सटर खाली गराउनको लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई आवश्यक सहयोगका लागि लिखित अनुरोध गरेपछि पनि पुनम थापा बुटवल छु भन्दै पसलमा नआएको सिद्धार्थनगर–१२ का वडाअध्यक्ष कुमार गुरुङले बताए । उनले भने, ‘जेठ ३० गते नगद तथा जिन्सी सामानको जिम्मा गणेश कालिका मन्दिर समितिको रहने गरी सो कोठामा ताल्चा लगाइएको छ ।’
श्री गणेश कालिका मन्दिर पुरानो तथा धार्मिक महत्व बोकेको मन्दिर भएको स्थानीय बताउँछन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij